काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ।
ईपीएस कोरिया शाखाले सोमवार सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजानेछ।
तीमध्ये ६ हजार ९१३ उत्पादनमूलक र दुई हजार ७४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ। कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ।
भाषा परीक्षामा सहभागी हुन १४ देखि २१ चैतसम्म आवदेन फारम भर्न सक्ने शाखाले जनाएको छ। आवेदन फारम अनलाइन मार्फत भर्न सकिनेछ। परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ। आवेदन फारम शुल्क २४ अमेरिकी डलर रहेको छ।
आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा र सीप परीक्षण आगामी २६ वैशाखदेखि १३ जेठसम्म पहिलो चरण र २४ जेठदेखि १६ असारसम्म दोस्रो चरणमा हुनेछ।
यस्तै उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा आगामी २० असारदेखि १० भदौसम्म पहिलो चरण र १६ भदौदेखि २१ असोजसम्म दोस्रो चरणमा हुनेछ। परीक्षा एक दिनमा चार सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ।
कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतीजा आगामी २४ जेठमा र दोस्रो चरणमा भएको परीक्षाको नतीजा आगामी २३ असारमा प्रकाशन हुनेछ।
यस्तै, उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतीजा आगामी १६ भदौमा र २७ असोजमा प्रकाशन हुनेछ।