काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपालका विभिन्न दलका कमिकमजोरी औल्याउनुभएको छ ।
शनिबार शुरू भएको जसपाको संघीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले सत्ता साझेदार नेपाली कांग्रेसदेखि विवेकशील साझासम्मका दलका कमिकमजोरी औल्याउनुभएको हो ।
भट्टराईले प्रस्तुत गरेको ३३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा सबै दलका विषयमा जसपाको दृष्टिकोण कस्तो हुनुपर्ने भन्दै चिरफार गर्नुभएको हो ।
भट्टराईको नजरमा कांग्रेस ‘उदरवादी–पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल’ हो ।
उहाँले कांग्रेस र जसपाबीच केही समानता रहेको बताउनुभएको छ । “नेपाली कांग्रेस र जनता समाजवादी पार्टी बीचको समानाता– यी दुवै मूलतः लोकतान्त्रिक धारका दल हुन्,” भट्टराईले भन्नुभएको छ, । कांग्रेस ‘उदार लोकतन्त्र’मा विश्वास गर्ने दल र जसपा ‘समावेशी लोकतन्त्र’मा विश्वास गर्ने दल रहेको भट्टराईले उल्लेख गर्नुभएको छ ।केही विभन्नता भए पनि कांग्रेससँग सहकार्य हुनसक्ने उहाँको भनाइ छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेमकिपा, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा लगायत नेकपाका अन्य घटकहरू सबै एउटै भएको भट्टराईको निश्कर्ष छ। यी सबै समूहको विचार उत्पतिको आधार एउटै भएकोले नेकपाका घटकहरू आधारभूत रुपमा उस्तै रहेको उहाँको भनाइ छ । यी दलहरु एउटै पेन्सिलका फरकफरक टुक्रा मात्रै भएको भट्टराईको टिप्पणी छ ।
उनले राप्रपा र राप्रपा नेपाललाई रुढिवादी धारको प्रतिनिधित्व गर्ने दल भएको निश्कर्ष निकाल्नुभएको छ ।शक्तिले सानो भए पनि विचारले यो दल सबैभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल भएको उहाँको ठम्याइ छ । यी दलहरु मूलत लोकतन्त्रविरोधी, सामन्ती तथा रुढीवादी निरंकूशतावादी विचारको दल भएको उहाँको दाबी छ ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोपपा) लाई विचार, सिद्धान्त र अजेन्डामा प्रष्टता नभएको दलको रुपमा भट्टराईले टिप्पणी गर्नुभएको छ ।
विवेकशील–साझा पार्टी लगायतका अन्य दल भने विचार र शक्ति दुवै दृष्टिकोणले अस्तित्व संकटको अवस्थामा पुगेको उहाँको ठम्याइ छ ।