काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएको छ ।
सामाजिक संस्थाको रुपमा रहेको एनआरएनएमा चर्को राजनीति हुँदा उक्त संस्था अन्ततः विभाजित बन्न पुगेको हो ।
विशेषगरी चुनावको मुखमा काँग्रेस र एमाले गरी एनआरएनएका अभियन्ताहरु कित्ताकाट हुँदा विवाद चर्किँदै विभाजनको अवस्था निम्तिएको हो । एमाले निकटका अध्यक्ष कुमार पन्त र उहाँको समूह तथा अध्यक्षका प्रत्यासी कुल आचार्य बीचको बढ्दो अन्तरद्वन्द्वले करिब २० वर्षे इतिहास बोकेको संस्था विभाजित बनेको हो ।
पन्त समूहबाट नयाँ नेतृत्वका लागि बद्री केसी चुनावी मैदानमा हुनुहुन्छ । उहाँलाई एमालेको समर्थन रहेको छ । काँग्रेस निकट आचार्यलाई नेपालको सत्ता गठबन्धनमा रहेका दल निकट एनआरएनए अभियन्ताहरुको साथ रहेको छ ।
सत्ताकै आडमा चुनावी गतिविधिमा आचार्यले अवरोध पुर्याएको आरोप संस्थापन पक्षले लगाउँदै आएको छ । अक्टोबरमै हुनुपर्ने चुनाव हालसम्म नभएपछि संस्थापन पक्षले आगामी मार्च २४ र २५ तारिखका दिन निर्वाचनको मिति तोकेको छ । त्यसका लागि शुक्रबार साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको थियो । तोकिएको समयमा उम्मेदवारी दिनेमा अधिकांश पन्त समूहका उम्मेदवार रहेका छन् भने आचार्य समूहले बहिष्कार गरेको छ ।
यसैबीच आचार्य समूहले समानान्तर चुनावको मिति घोषणा गरेको छ । एनआरएनएका प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेको घोषणा गर्नुभएको हो । यसलाई समानान्तर समितिको रुपमा अभियन्ताहरुले ब्याख्या गरेका छन् ।
निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल अमेरिका रहनुभएको छ ।
यस्तै प्रमुख संरक्षक शेष घलेले संघको दशौँ महाधिवेशन आयोजना गर्न महाधिवेशन आयोजक समिति समेत गठन गर्नुभएको छ । संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह–संयोजकमा अर्का उपाध्यक्ष मन केसी रहनुभएको छ । आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरू, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन्।
दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख अर्थात संस्थापनको तालिकासँगै जुधाएर काठमाडौँमा आयोजना हुने घोषणा गरिएको छ । प्रमुख संरक्षक घलेले संघका सबै डेलिगेट्स तथा अभियन्ताहरुलाई सकभर छिटो काठमाडौँ आउन पनि आग्रह गरेका छन् ।
विद्रोही समूहका आचार्यले एनआरएनएलाई अझै पनि जोगाउने बाटो खुला नै रहेको भन्दै संस्थापनले आफ्ना कमजोरी स्वीकारेर सहमतिमा आउनुपर्ने बताउनुभयो ।