काठमाडाैं । राष्ट्रियसभा निर्वाचनको मौन अवधि गतरातिदेखि शुरु भएको छ । आयोगले चुनावमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोगले सोमबार मध्यराति १२ बजेदेखि मौन अवधि लागू गरेको हो ।
राष्ट्रियसभाका १९ सदस्यका लागि हुन लागेकाे निर्वाचनकाे तयारी पुरा भएकाे निर्वाचन आयोगका जनाएकाे छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सबै तयारी पूरा भएको छ । आयोगले यस अवधिमा निर्वाचन प्रचारप्रसारमा भौतिक र अनलाइन गरी सबै प्रकारका गतिविधिमा रोक लगाइएको छ ।
‘माघ ८ गते राति १२ बजेपछि कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने हुँदा सोबमोजिम आचरण पालना गर्न–गराउन अनुरोध गरिन्छ,’ आयोगको विज्ञप्तिमा छ ।
आयोगले मतदानका लागि बिहान ९ बजे देखि अपराह्न ३ बजेसम्मको समय तोकेको छ । आयोगका अनुसार यसपटकको निर्वाचनमा प्रदेशसभा सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको निर्वाचन चिह्न रहेको मतपत्र र पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको निर्वाचन चिह्न रहेको मतपत्र तयार गरी मतदान केन्द्रमा पठाइसकिएको छ ।