काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाएर २४ सैं घण्टा चल्न दिने निर्णय गरेको हो।
गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाउने भएका छन्।
यसअघि प्रहरी प्रशासनले राती १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो।
मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनासो आएपछि रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन १४ सदस्यीय कार्यदल बनाइएको थियो । मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा रहेको कार्यदलले शान्ति सुरक्षालगायतका विषयलाई अध्ययन गरेर रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिन सिफारिस गरेको थियो। उक्त सिफारिस अनुसार गृहले रात्रिकालीन व्यवसायलाई मापदण्ड बनाएर २४ सै घण्टा चल्न दिने निर्णय भएको हो।
मापदण्डमा डान्सबार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लिलता प्रदर्शन हुने गरी नाँच्न नपाइने भनिएको छ।
यस्तै आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुग्ने सेवाग्राहीको रुपमा सेवा लिन आउने सबै पाहुनलाई स्वस्थ मनोरञ्जन प्रदान गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
कानुन अनुसार इजाजत प्राप्त गरेर मात्र मनोरञ्जन प्रदान गरेर आर्थिक वृद्धिमा टेवा पुर्याउने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने, रात्रिकालीन व्यवसायमा काम गर्ने कामदारलाई पद अनुसार पोशाक, रातिको खाना र घरसम्म पुग्ने यातायातको सुविधा पनि उपलब्ध गराउनुपर्ने उल्लेख छ।
सेवा लिइसकेपछि व्यवसाय स्थलबाट आफ्नो घरसम्म पुर्याइदिन ग्राहकले अनुरोध गरे सम्बन्धित व्यवसायीले सशुल्क सवारीसाधनको व्यवस्था गर्नुपर्ने समेत मापदण्डमा उल्लेख छ ।