नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले कोशी प्रदेश सरकार गठनको पछिल्लो घटनाप्रति सभापति शेरबहादुर देउवाले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताउनु भएको छ ।
सभापति देउवाले कोशी प्रकरणबारे छलफल गर्न महामन्त्रीद्वय शर्मा र थापा लगायतका नेताहरुलाई सोमबार आफ्नो निवासमा बोलाउनु भएको थियो। छलफलमा महामन्त्रीद्वय शर्मा र थापाले कोशी घटनाक्रमको सबै जिम्मेवारी सभापति देउवाले नै लिनुपर्ने बताउनु भएको हो ।
छलफलमा आफूहरुले कोशीमा यो परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाटै भएको भनाई राखेको महामन्त्री शर्माले पत्रकारहरुलाई जानकारी दिनु भएको छ । ‘अहिले जे भएको छ, त्यो घटनामा सभापतिले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । किन यो प्रकारको दुर्घटना भयो, ‘।यसको सबैभन्दा ठूलो जिम्मेवारी, अंशियारी सभापतिले लिनुपर्छ’ शर्माले बैठकपछि पत्रकारहरुसँग भन्नुभयो ।
महामन्त्री शर्माले डा शेखर कोइरालाले पनि कोशी घटनाको विषयमा जवाफ दिनुपर्ने बताउनु भयो। ‘कुनै प्रदेशमा कांग्रेसको भाग थिएन, गठबन्धनमा सम्मानजनक आलोपालो भन्ने छ’ उहाँले भन्नुभयो ‘सभापतिले संस्था चलाउने कुरामा फरक विचारलाई सुन्ने र समन्वय गर्ने कुरा नगर्ने र फरक विचार समूहका नेताले पनि आफ्नै समूहभित्र पनि छलफल नगर्ने परिपाटी देखियो ।’
कोशीमा सरकार गठनको विषयमा सभापति देउवाले कोशीबाटै प्रतिनिधित्व गर्ने आफू, सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेता विजयकुमार गच्छदार, डा। नारायण खड्कालगायत कोही पनि नेतासँग सल्लाह नै नगरेको महामन्त्री शर्माको भनाई छ ।
कोशीमा कांग्रेसका केदार कार्कीले आफ्नो दलका २९ मध्ये ८ जना र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेर मुख्यमन्त्री नियुक्त हुनु भएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री नियुक्तिका लागि सहमति जनाएपछि शेखर पक्षका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा नेकपा एमालेलाई पनि सहभागी गराएपछि त्यसले सत्ता गठबन्धनमा तरङ्ग ल्याएको छ ।