काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो।
उच्च अदालत पाटनले उनलाई विदेश जान प्रतिबन्ध लगाएको निर्णय सर्वोच्चले बदर गरिदिएको हो।
सर्वोच्चको आदेशमा सन्दीपले अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनमा नेपाल आई काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन भनिएको छ।
लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो।
सन्दीपलाई एकजना नाबालिगलाई बलात्कार गरेको अभियोग लागेको थियो। त्यसपछि उनलाई जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो।
जिल्लाको उक्त आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए। जहाँ गत पुस २८ गते उच्च अदालतले सन्दीपलाई थुनाबाट रिहा गर्न आदेश दिएको थियो।
उक्त आदेशपछि उनी पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएर नेपाली राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका थिए।
तर त्यसपछि सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं छाड्न पूर्वअनुमति लिनुपर्ने र विदेश जान नपाउने आदेश दिएको थियो।
त्यसविरुद्ध सन्दीप सर्वोच्च अदालत पुगेका थिए। उनले आफूलाई विदेश जान रोक लगाउने उच्च अदालतको आदेश बदर गर्न माग गरेका थिए।
सर्वोच्चमा बहस हुँदा नेपाली क्रिकेट टिमका व्यवस्थापक विनोद दास सर्वोच्चको बन्द इजलासमै पुगेर सन्दीपलाई विदेश लैजाँदा आफूले फर्काउने ग्यारेन्टी लिएका थिए।
दुई दिन चलेको बहसबीच पीडितको पक्षबाट महान्यायाधिवक्ताको कार्यालले सन्दीपलाई थुनामै फर्काउनुपर्ने मागलाई पनि अस्वीकार गरेको छ।
सर्वोच्चले बिहीबार सन्दीप र पीडित पक्ष दुवैको निवेदन एकै ठाउँ पेश गर्न भनेको थियो। त्यसपछि दुवै निवेदन एकै ठाउँ राखेर सुनुवाइ भएको थियो।
सर्वोच्चको यो आदेशसँगै अब सन्दीप क्रिकेट खेल्न युएई जान पाउने भएका छन्। नेपालले सोमबार त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीसँग खेलिरहेको छ।