काठमाडौं । महानगरीय अपराध महाशाखाले पर्चा र फेसबुकबाट रोजगारीको विज्ञापन गरेर ठगी गर्ने ९ वटा जब सेन्टरमा छापा मारेको छ ।
प्रहरीले काठमाडौंको कोटेश्वर, बानेश्वर, बालाजु र चाबहिल लगायतका ठाउँमा रहेका ती जब सेन्टरहरूमा छापा मारेको हो। जब सेन्टरको आवरणमा ठगी धन्दा चलाउँदै आएका ९ जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख (एसएसपी) वसन्त कुँवरले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सोसाइटी वेल्फेयर फ्सिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालि कोटेश्वरका सञ्चालक २६ वर्षीय अमर पाण्डे, सो जब सेन्टरको बानेश्वर शाखाका प्रबन्धक ३२ वर्षीय तिलकराम पाण्डे, बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट ट्रेनिङ सेन्टरका सञ्चालक २२ वर्षका आनन्द मरहठ्ठा र एनएन मल्टी पर्पोज प्रालि कोटेश्वरका सञ्चालक विवेक यादव छन् ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ अँधेरी घर भएका २८ वर्षीय अश्विन राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । अश्विन कोटेश्वरको एबिएस जब एण्ड ट्रेनिङ सेन्टर र हलेसी सेक्युरिटी सर्भिसका सञ्चालक हुन् । कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाका सञ्चालक २३ वर्षीय घनश्याम पहाडी पनि पक्राउ परेका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–२ घर भएका पहाडी जडिबुटीमा बस्दै आएका थिए ।
चावहिलस्थित प्राश्ना जब इन्टरनेशनल मल्टिप्रपोजका सञ्चालक २५ वर्षीया सिर्जना लामिछाने पनि पक्राउ परेकीछिन् । रौतहटको चन्द्रनिगाहापुर घर भएकी लामिछाने जडिबुटी बस्छिन् । त्यस्तै, कोटेश्वरमा रहेको अनमोल जन मल्टिप्रपोजका सञ्चालक २२ वर्षीय रामवचनकुमार यादव र कोटेश्वरको क्विकमाण्डु मल्टिप्रपोजकी सञ्चालिका ४० वर्षीया ज्ञानु न्यौपानेलाई समेत महाशाखाले नियन्त्रणमा लिएको छ । विराटनगर उप–महानगरपालिका–४ घर भएकी न्यौपाने कोटेश्वरमा बस्छिन् ।
प्रहरीका अनुसार उनीहरुले सामाजिक सञ्जाल र चोकमा पर्चा वितरण गरेर विज्ञापन गरी जागिर पाउने आशामा ‘जागिर केन्द्र’मा पुग्नेहरूलाई फारम शुल्क बापत ३ देखि ५ सय असुल्ने गरेका थिए । केहिदिन तालिम गराउने र त्यसपछि जागिर शुल्क भनेर ४ हजार देखि ५ हजारसम्म असुलेर हैरानी दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको महाशाखाका एसएसपी कुँवरले बताउनुभयो ।