काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी क्लब अल नासरमा भब्य स्वागत गरिएको छ।
साउदी क्लब अल नासरले रोनाल्डोलाई कीर्तिमानी रकममा आवद्ध गराएको हो ।
क्लबले मंगलबार राति रोनाल्डोको स्वागतमा भब्य समारोहको आयोजना गरेर रोनाल्डोलाई स्वागत गरेको हो ।
मार्सूल पार्कमा दुई घण्टासम्म चलेको स्वागत समारोहमा आतिसबाजीसहित उनलाई क्लबमा भित्र्याइएको थियो ।
अल नासरको पहेँलो र नीलो जर्सी लगाएका रोनाल्डो रंगशालामा प्रवेश गर्दा आतिसवाजी र झकिझकाउ लाइटहरूले स्वागत गरिएको थियो।
२५ हजार दर्शक क्षमताको खचाखच भरिएको रंगशालामा उनले दर्शकहरूलाई अभिवादन गर्दै मैदान प्रवेश गरेका बेला दर्शकहरूले हुटिङ गरेका थिए।
साथमा उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजले साउदी महिलाहरूले लगाउने परम्परागत कालो अबाया लुगा लगाएर बच्चाहरूसँगै पछि पछि मैदान छिरेकी थिइन्।
त्यसअघि आयोजित एक कार्यक्रममा उनले सम्झौता पत्रमा हस्ताक्षरसमेत गरेका छन्। यस्तै उनले प्रशंसकलाई सम्बोधनसमेत गरेका छन्।
आफूलाई युरोप, अमेरिका, अष्ट्रेलिया र पोर्चुगलका धेरै क्लबले बोलाए पनि साउदी क्लबलाई आफूले बचन दिएकाले रियाद आएको बताए।
३७ वर्षीया रोनाल्डोले युरोपका सबै कीर्तिमान तोडिसकेपछि साउदी अरेबियामा पनि केही तोड्न चाहेको बताए। ‘यो सम्झौता अद्वितीय छ किनभने म पनि एक अद्वितीय खेलाडी हुँ,’ उनले भने, ‘मैले युरोपेली फुटबलका सबै कीर्तिमान तोडिसकेको छु र अहिले एसियामा केही गर्न चाहन्छु, मेरो अनुभव बाँड्ने यो सही समय हो भन्ने महसुस गरिरहेको छु।’