काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमवार बस्दै छ ।
यसअघि दुईपटक सारिएको बैठक सोमवार बस्न लागेको हो । बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, नबसी सोमवारका लागि सारिएको हो ।
शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नाराणकाजी श्रेष्ठले धारणा राख्नुभएको थियो । बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ ।
सोमवारको बैठकमा पदाधिकारी टुंग्याउने तयारी रहेको नेताहरुले बताएका छन् । गत पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी सम्पन्न गरिएको थियो ।
२३६ केन्द्रीय समिति मात्रै गठन भएको थियो । केन्द्रीय समिति बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।
त्यसपछि बोलाइएका केन्द्रीय समिति बैठक कोभिड–१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो । माओवादी केन्द्रको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।