काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज राति हुँदैछ ।
लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । उपाधिका लागि कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । दुबै देशले हालसम्म समान दुई विश्वकप जितेका छन् ।
अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।
लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो । मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो । मेस्सीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकप उचाल्ने दबाब छ ।
यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा रहेको छ ।
अर्जेन्टिना र फ्रान्सले सेमिफाइनलमा सहज जित समेत निकालेको थियो । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो । दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराएको थियो ।
यस्तै फ्रान्सका स्टार खेलाडी एमबाप्पे र अर्जेन्टिनाका कप्तान मेस्सीबीच गोल्डेन बुटका लागि समेत प्रतिस्पर्धा हुनेछ । जारी विश्वकपमा दुवैजनाले समान ५–५ गोल गरेर गोल्डेन बुटमा दाबेदारी प्रस्तुत गरेका छन् ।