काठमाडौं । एसियाका दुई देश जापान र दक्षिण कोरिया कतार फिफा विश्वकपको प्रि क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।
सोमवार भएको खेलमा ब्राजिलसँग ४–१ अन्तरले पराजित भएपछि दक्षिण कोरियाको कतार फिफा विश्वकप यात्रा समाप्त भएको हो । सोमबार राति स्टेडियम ९७४ मा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पाक्वेटाले एक एक गाल गरे । कोरियाको लागि सुङ हो पाइकले एक गोल गरे ।
अब, सेमिफाइनल प्रवेशकालागि ब्राजिलले क्रोएसियाको सामना गर्नेछ ।
सोमवार नै भएको अर्को खेलमा जापानलाई पराजित गर्दै क्रोएसिया कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
क्रोएसियाको जितमा गोलकिपर डोमिचिच लिभाकोभिच नायक बने ।
गोलकिपर डोमिचिच लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि सोमबार राति क्रोएसियाले पेनाल्टी सुटआउटमा जापानमाथि ३–१ को जित हासिल गर्यो ।
निर्धारित समय तथा थप गरिएको अतिरिक्त समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ लिभाकोभिच नायक बने । उनले जापानका तीन खेलाडीको पेनाल्टी बचाएका थिए ।
क्रोएसियाका लागि निकोला भियासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले गोल गरेका थिए । लिभाकोभिचले जापानको तर्फबाट ताकुमी मिनामिना, काउरो मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका तर्फबाट ताकुमा असानोले मात्र पेनाल्टी गोल गरेका थिए ।
यस अघि अल जुनब रंगशालामा जापानले पहिलो हाफमा डाइजान मेइडाको गोलमा अग्रता बनाएको थियो । इभान पेरिसिचको गोल गरेपनि दोस्रो हाफमा खेल बराबरीमा आएको थियो ।