काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व सञ्चारकर्मी लामिछानेले खारेज भएको नागरिकताको प्रयोग गरी दुरुपयोग गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।
गृह मन्त्रालयमा परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आएको पत्र प्रशासन कार्यालयले प्रहरीमा पठाएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँले सरकारी कागज दुरुपयोग सम्बन्धमा छानबिन अगाडि बढाएको हो।
युवराज सफलले रविको नागरिकता सम्बन्धमा छानबिनको माग गर्दै गृहमा उजुरी दिएका थिए। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले गृहबाट सम्बन्धित निकायबाट अनुसन्धान अगाडि बढाउन पत्र आए अनुसार काठमाडौं परिसरमा पत्र पठाएको बताउनुभयो ।
काठमाडौं परिसरका प्रमुख एसएसपी भरत बोहोराले जिल्ला प्रशासन कार्यालयबाट रवि लामिछानेको नागरिकता सम्बन्धमा छानबिन गर्न पत्र आएको र सो प्रक्रियामा रहेको बताउनुभयो । चितवन २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेपछि रविको नागरिकता अवैध रहेको दाबी सहित निर्वाचन कार्यालयमा उजुरी परेको थियो।
रविले अमेरिकी नागरिक भएपछि खारेज भएको २०५० मा निकालेको नागरिकता नै हाल प्रयोग गरिरहेको निवेदकको दाबी छ ।
रविको उम्मेदवारबारे उजुरी परे पनि छानविन र निर्णय गर्ने अधिकार नभएको भन्दै आयोगका पदाधिकारीले रविलाई चितवन–२ मा निर्वाचित प्रमाण पत्र दिएको थियो।
विवादमा परेपछि रविले सन् २०१८ मा अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया अगाडि बढाएका थिए । तर उनले अमेरिकी पासपोर्ट लुकाएर सन् २०१५ मै नेपाली पासपोर्ट लिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएको थियो । उनले हालसम्म सोही पासपोर्टको प्रयोग गर्ने गरेको बताइएको छ ।
रविले खारेज भइसकेको नागरिकताकै आधारमा मतदाता सूचीमा नाम समेत दर्ता गरेका थिए। उनको मतदाता सूचीमा श्रीमतीको नाम निकिता पौडेल उल्लेख छ । अर्थात उनले अमेरिकी नागरिकको कानुनी हैसियत त्यागेपछि नेपालमा खारेज भएको नागरिकता नब्युताई मतदाता सूचीमा नाम दर्ता गरेका हुन् ।
उनीमाथिको आरोप पुष्टि भए उनको संसद सदस्य पद खारेज हुनुको साथै जेल सँजाय समेत हुने कानुनी प्रावधान छ ।