काठमाडौं । जापान र स्पेन आफू अनूकुलको नतिजा निकाल्दै कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छन् ।
बिहीबार राति खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानले स्पेनलाई २–१ अन्तरले पराजित गरेको हो । यद्यपि, स्पेन पराजित बाबजुद पनि आफू अनूकुल नतिजा निस्कदा अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।
जितसँगै समूह ‘इ’ मा जापानले तीन खेलबाट ६ अंक जोड्दै विजेता बन्यो । समान चार अंक भएपनि जर्मनीलाई गोल अन्तरमा पछि पार्दै स्पेन उपविजेता बन्यो । तीन अंकको कोस्टारिका र जर्मन प्रतियोगिताबाट बाहिरिएको छ ।
एसियाली मुलुक जापानको जितमा रित्सु डोन र एओ टानकाले दोस्रो हाफमा एक एक गोल गरेको थिए । स्पेनका अल्भारो मोराटाले पहिलो हाफमा गोल गरेपनि जिताउन पर्याप्त रहेन ।
बिहीबार राति नै भएको समूह ‘एफ’को खेलमा आफू अनुकुल नतिजा निकाल्दै मोरक्को विजेता र क्रोएसिया उपविजेता बनेको हो ।
अल थुमामा रंगशालामा मोरक्कोले कमजोर मानिएको क्यानाडामाथि २–१ को नतिजा हासिल गर्यो । मोरक्कोका लागि हाकिम जियाच र युसुफ इन नेसिरीले एक एक गोल गरेका थिए । नायेफ एगुर्डले आत्माघाति गोल गरेका थिए ।
अहमद बिन अली रंगशालामा भएको अर्को खेलमा बेल्जियम र क्रोएसिसयाले गोलरहित बराबरी खेलेका थिए । दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।
खेलपछि सात अंकका साथ मोरक्को समूह विजेता तथा क्रोएसिया पाँच अंकका साथ उपविजेता भए । चार अंकमा सीमित बेल्जियम र बिना अंकको क्यानाडा प्रतियोगिताबाट बाहिरिए ।