काठमाडौं । राष्ट्रियसभाका नव निर्वाचित १९ सदस्यहरुको कार्यकाल शनिवारबाट शुरु भएको छ ।
शनिवार कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा आयोजित एक समारोहकाबीच शपथ ग्रहण गरेका १९ राष्ट्रियसभा सदस्यहरुको कार्यकाल शुरु भएको हो । नव निर्वाचित सदस्यहरुको कार्यकाल ६ वर्ष रहनेछ । नव निर्वाचित सदस्यहरुलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले संसदको लोगोसहितको ब्याज लगाइदिनुभएको छ ।
गत माघ १२ गते सम्पन्न निर्वाचनबाट नेपाली कांगेसका ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका पाँच÷पाँच तथा नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक एक जना निर्वाचित भएका थिए । नव निर्वाचित राष्ट्रियसभा सदस्यहरुमा कांग्रेसबाट नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेत, माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, नरबहादुर विष्ट र जगतबहादुर कार्की, एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह रहनुभएको छ ।
यस्तै जसपाबाट मोहम्मद खालिद, एमालेका सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माको कार्यकाल पनि ६ वर्षको हुनेछ । राष्ट्रपतिबाट मनोनीत हुने एक सांसदको भने टुंगो लाग्न बाँकी छ ।