काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण शनिबार हुँदैछ।
शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा शपथ ग्रहण समारोह हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित हुनुभएको छ। सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन्। महिलाबाट ७, दलितबाट ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका हुन्। जसमध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भए भने एक सिट एमालेले रक्षा गरेको छ। शपथपछि निर्वाचित सदस्यको कार्यकाल सुरु हुनेछ।
रिक्त २० मध्ये १९ जना निर्वाचित हुनुभएको छ भने एक जनाको मनोनय सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ।
नयाँ सदस्यको पदावधि छ वर्षको हुनेछ। अब हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभामा निर्वाचित र मनोनित सबै सदस्यको पदावधि छ वर्षको हुनेछ। एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ।
पहिलो पटक राष्ट्रियसभा सदस्यको पदावधि कायम गर्दा गोला प्रथाबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुनेछ।
राष्ट्रिय सभाका सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रिय सभाको प्रथम बैठक बसेको दिनबाट गरिन्छ । पहिलो बैठकदेखि सम्पूर्ण सदस्यको पदावधि प्रारम्भ भएको मानिनेछ ।
राष्ट्रिय सभाको रिक्त हुन आउने सदस्यको पूर्ति निर्वाचन वा मनोनयन जुन तरिकाले भएको थियो सोही तरिकाले बाँकी अवधिका लागि पूरा गरिनेछ।
कसले कहाँबाट जिते?
प्रदेश १
- सोनाम ग्याल्जेन शेर्पा (नेकपा एमाले) अपांगता वा अल्पसंख्यक
- गोपाल बस्नेत, नेपाली कांग्रेस (अन्य)
- जयन्ती राई, एकीकृत समाजवादी (महिला)
मधेश प्रदेश
- उर्मिला अर्याल, नेकपा माओवादी केन्द्र (महिला)
- महम्मद खालिद सिद्धिकी, जनता समाजवादी पार्टी (अन्य)
बागमती प्रदेश
- गोमादेवी तिमल्सिना, एकीकृत समाजवादी (महिला)
- कृष्णप्रसाद पौडेल, नेपाली कांग्रेस (अन्य)
गण्डकी प्रदेश
- कमला पन्त, नेपाली कांग्रेस (महिला)
- सुरेश आलेमगर, माओवादी केन्द्र (अन्य)
- भुवनबहादुर सुनार, माओवादी केन्द्र (दलित)
लुम्बिनी प्रदेश
- युवराज शर्मा, नेपाली कांग्रेस -(अन्य)
- राजेन्द्रलक्ष्मी गैरे, नेकपा एकीकृत समाजवादी (महिला)
- तुलप्रसाद विश्वकर्मा, जनमोर्चा (दलित)
कर्णाली प्रदेश
- उदय बोहोरा, एकीकृत समाजवादी (अन्य)
- नरबहादुर विष्ट, माओवादी केन्द्र (अपांग/आदिवासी)
- दुर्गाकुमारी गुरूङ, कांग्रेस (महिला)
सुदूरपश्चिम प्रदेश
- नारायणदत्त मिश्र, नेपाली कांग्रेस (अन्य)
- मदन कुमारी शाह (गरिमा), नेकपा एकीकृत समाजवादी (महिला)
- जगत पार्की, नेकपा माओवादी केन्द्र (दलित)