काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान हुने भएको छ ।
सो विमानस्थमा मंसिर ५ गतेदेखि ११ गतेसम्म परीक्षण उडान हुने तय भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।
थाइल्याण्डको एरो थाइ विमानले परीक्षण उडान गर्ने उहाँको भनाइ छ । यसका लागि विमान नेपाल आइसकेको छ । परीक्षण उडानका लागि समस्याको रुपमा हेरिएको रिठ्ठेपानी डाँडा कटानको काम पनि सकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यान्त्रिक परीक्षण उडानका लागि प्रारम्भिक चरणको काम सम्पन्न भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षणका लागि एरो थाइको विमान नेपाल आइसकेको छ । तत्काललाई रिठ्ठेपानी डाँडा १४ मिटर कटान सकिएको छ ।
नेपालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मात्र नभएर अन्य विमानस्थलको पनि यान्त्रिक परीक्षण उडान गरिनेछ । केही दिन अघिमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गरी विमान भैरहवा गएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पनि यान्त्रिक परीक्षण उडान गर्ने छ । त्यसपछि थाइको विमान मंसिर ४ गते पोखरा पुग्ने बताइएको छ । पोखरामा छ दिन यान्त्रिक परीक्षण उडान गर्ने तालिका तय भएको छ ।
विहान तीन घण्टा र बेलुका तीन घण्टा गरी दिनमा ६ घण्टा यान्त्रिक परीक्षण उडान गर्ने निरौलाले बताउनुभयो । यान्त्रिक परीक्षणको क्रममा एयर ट्राफिक कन्ट्रोल, टावर धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गर्नेछ ।
त्यसपछि एरो थाइले नेपालगञ्ज, सुर्खेत, पोखरा र धनगढीमा पनि यान्त्रिक परीक्षण उडान गर्ने कार्यतालिका रहेको निरौलाले बताउनुभयो ।