काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको छ ।
भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो । प्राधिकरणले अब ८ जलविद्युत केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत भारतीय आइएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ ।
प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९।०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१,२२ मेगावाटको माईखोला, १४।९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१, ४२ मेगावाटको मिस्त्रीखोला, २४।२ मेगावाटको लिखुखोला ‘ए’, २३।५ मेगावाटको सोलुखोला र २२।१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसमक्ष पेश गरेको थियो ।
त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत निर्यातका लागि अनुमति प्राप्त भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाखको विद्युत भारत निर्यात भइसकेको छ ।
देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत निर्यात गरी प्राधिकरणले १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ ।