काठमाडौं । नाबालिका बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाहमाथिको अनुसन्धानलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा लेख्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ।
नाबालिका बलात्कारको आरोपमा १५ फागुनमा पक्राउ परेका पल शाह अहिले जिल्ला प्रहरी कार्यालय, तनहुँको हिरासतमा छन्। उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
उनको पक्षमा केही व्यक्तिले प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै आएका छन्। त्यस्तै, केही कलाकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको पक्षमा सामाजिक सञ्जालमा लेख्दै आएपछि प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरीको साइबर ब्युरोले सूचना प्रकाशित गरी यो गम्भीर प्रकृतिको अपराध भएकाले यसलाई प्रभावित पार्नेगरी सामाजिक सञ्जालमा नलेख्न सचेत गराइएको छ । यसमा विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने प्रवक्ता नविन्द अर्यालले बताउनुभयो ।
ब्यूरोले ‘केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटक लगायत सामाजिक सञ्जालमा गम्भी प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्वीरहरू अपलोड’ गरेको पाइएको जनाएको छ।
समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भाव खलल पुग्ने, पीडितको गोपनीयताको हक हनन गर्दै पीडितको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने प्रवृति देखिएको साइबर ब्यूरोले जनाएको छ। ब्युरोले भनेको छ, ‘यस्ता क्रियाकलापहरूले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यवहोरा सूचित गर्दै यस्ता प्रकारका गतिविधि नगर्नु हुन सम्पूर्णमा साइबर ब्यूरो अनुरोध गर्दछ।’
यसअघि राष्ट्रिय मानव मानव अधिकार आयोगले पनि यस घटनामा अनुसन्धान प्रक्रिया प्रभावित हुने क्रियाकलाप नगर्न अनुरोध गरेको थियो।