काठमाडौं । संवेदना युनिभर्सल हुन्छ । राजश्री प्रोडक्सनको पछिल्लो फिल्म उचाइमा निर्देशक सूरज बड़जात्याले यही संवेदनालाई निकै सुन्दर ढंगबाट प्रस्तुत गरेका छन् । यसले गर्दा उचाइ एकपटक हेर्नैपर्ने फिल्म बनेको छ । चारजना मित्रहरुको कथा उचाइले दर्शकलाई भक्कानो छुटाउँछ भने केही दृश्यले हँसाउँछ पनि ।
उचाइको कथा :
फिल्ममा चारजना मित्रहरु छन् भूपेन,अमित,ओम र जावेद । जागीरबाट सेवा निवृत्त भएपछि भूपेन एउटा रेस्टुरेन्ट चलाउँछन् । अमित बेस्ट सेलर लेखक हुन् । ओम बुक स्टोरका सञ्चालक हुन् । जावेदको भने आफ्नै कपडाको पसल छ । भूपेन नेपाली हुन् । सगरमाथा उनको मुटुमै बसेको हुन्छ । त्यसो त उनी पटक पटक सगरमाथा बेसक्याम्प पुगिसकेका हुन्छन् । तर पनि उनको एउटा धोको र सपना छ कि उनी एकपटक आफ्ना साथीहरुसँग सगरमाथा जान चाहन्छन् । त्यसैले उसले एभरेष्ट बेसक्याम्पमा ट्रेकिङ जान चारजनाका लागि बुकिङ गर्छन् । तर यहीबीच भुपेनको निधन हुन्छ । अब तीनजना साथी अमित, ओम र जावेदले भूपेनको अस्थिलाई सगरमाथामा लगेर विसर्जन गर्ने निर्णय गर्छन् । यसबीचमा उनीहरुले अनेक कष्ट भोग्छन् । त्यसबाट फिल्म हेर्ने दर्शकले भने भरपुर मनोरञ्जन पाउँछन् । फिल्म ’उचाइ’ यही क्यानाभसमा पोतिएको कलात्मक चित्र हो ।
निर्देशक सूरज बड़जात्याले मानवीय संवेदनालाई निकै सुन्दर ढंगले पस्किदिएका छन् । उनले प्रत्येक दृश्यलाई मिहिन रुपमा दर्शाएका छन् । चाहे अमिताभ बच्चन विरामी भएको दृश्य होस या तिनैजना एभरेष्टमा जाँदाको दृश्य होस् । अनुपम खेर आफ्नो घर पुग्दाको दृश्य, सबै दर्शकको आँखामा आँसु अनायसै टिलपिलाउछन् । यस्ता दृश्य फिल्ममा पटक पटक आइरहन्छ, जसले दर्शकलाई रुवाइदिन्छ । त्यसो त दर्शकलाई केही दृश्यहरुले हँसाउँछ पनि । फरक यति हो केही दृश्यले पेट मिचि मिचि हँसाइदिन्छ केही दृश्यले ओंठमा मुस्कान ल्याइदिन्छ । अर्थात पूरै फिल्म इमोशनहरुले भरिपूर्ण छ ।
अनुभवी कलाकारहरु एकसाथ हुनुको फरकपन दर्शकहरुले फिल्म उचाइमा प्रष्टसँग अनुभव गर्न पाउँछन् । अमिताभ बच्चन,अनुपम खेर र बोमन इरानीले फिल्मका दृश्यहरुमा धेरै ठाउँमा इम्प्रोभाइज्ड गरेका छन् । फिल्मका स–साना दृश्यहरुलाई समेत जीवन्त बनाउन उनीहरुले कुनै कसर बाँकी राखेका छैनन् । फिल्मको स्क्रिप्टमा लेख्न नसकिने कुराहरुलाई यी दिग्गज कलाकारहरुको अभिनयमार्फत दर्शकहरुले अनुभव गर्न पाउछन् । जसलाई कलाकारहरुको चमात्कार भन्न सकिन्छ । सबै दिग्गज कलाकारहरुले आफ्नो नाम अनुसारको काम गरेर देखाएका छन् उचाइमा । तीनैजना कलाकारहरुको अभिनय उत्तिकै उम्दा छन् । चाहे कमेडी दृश्य होस् या गम्भीर, जीवन्त बनाउन कुनै कसर छोडेका छैनन् । निना गुप्ता र सारिकाले पनि आफ्नो भूमिकालाई न्याय गरेकी छिन् । नेपाली बनेका डेनी डेन्जोङ्पाको भूमिका छोटो छ तर उनले यादगार अभिनय गरेका छन् । लाग्छ उनले अभिनय होइन यथार्थ पस्केका छन् ।
यात्रामा आधारित फिल्म भएकोले फिल्ममा धेरै सुन्दर र मनमोहक दृश्यहरु हेर्न पाइन्छ । ७० प्रतिशत नेपालमा छायांकन गरिएको फिल्ममा मुस्ताङ र सगरमाथा बेसक्याम्पक सुन्दर दृश्यहरुले दर्शकलाई लोभ्याउँछ । यसका साथै नेपालका हिमाली क्षेत्रको जनजीवनलाई पनि फिल्म उचाइमा हेर्न पाइन्छ । फिल्मको सिनेमाटोग्राफी उत्कृष्ट छ । जसले गर्दा दर्शकलाई फिल्मका पात्रहरुसँगै डोर्याएर लैजान्छ । फिल्ममा रहेको ड्रोन दृश्यहरु मनमोहक छन् ।
फिल्मको पटकथा निकै चुस्त छ जसले दर्शकलाई कतै भड्किन दिदैन । गीत र सिक्वेन्स पनि मिलेका छन् । त्यसबाट दर्शकहरुले भरपुर मनोरञ्जन पाउँछन् । हरेक कलाकारका संवाद र प्रस्तुति जीवन्त छन् ।
तर यदि हुँदा हुँदै पनि फिल्ममा अझ सुधार गर्न सकिने केही पक्षहरु पनि छन् । जस्तो फिल्मको पाश्र्व संगीत कतै कतै लाउड सुनिन्छ । यसले दर्शकका कानलाई विझाइदिन्छ । अर्को कुरा फिल्मको लम्बई यसको कमजोर पक्षमा पर्छ । किनभने फिल्म उचाइ झण्डै ३ घण्टा अवधिको छ । फिल्म राम्रो हुँदा हुँदै पनि लामो भएको कारण केही दर्शकलाई दिक्क लाग्न सक्छ । फिल्मको लम्बइ आधा घण्टा मात्र कम गर्न सकेको भए सुनमाथि सुगन्ध हुन्थ्यो । मध्यान्तरपछि फिल्मको गति अस्वभाविक लाग्छ ।
फिल्मकी अभिनेत्री परिणिति चोपड़ासँग भने दर्शक निराश हुन्छन् । उनको अभिनय ठीकठाकभन्दा माथि छैन । कतिठाउँमा उनले बनावटी अभिनय गरिरहेकी छिन् भन्ने प्रष्ट थाहा हुन्छ । उनको अभिनयमा कुनै इमोशन पाइदैन । समग्रमा उचाइ एकपटक हेर्नैपर्ने फिल्म बनेको छ, जसले दर्शकलाई निराश बनाउँदैन