काठमाडौं । राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई बालिका बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
अदालतको आदेशपछि ३० दिन प्रहरी हिरासतमा बसेपछि लामिछानेलाई शुक्रबार सुन्धारास्थित भद्रजेल पठाइएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा लामिछाने निर्दोष रहेछन् भन्ने अवस्था नरहेको भन्दै उनलाई अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको हो । थप प्रमाणहरू बुझ्दै जाँदा पछि ठहरेबमोजिम हुने गरी हाल थुनुवा पुर्जी दिएर जगन्नाथ देवल पठाउन आदेशमा भनिएको छ । जगन्नाथ देवलमा केन्द्रीय कारागार, भद्रजेल र महिला कारागार गरी तीन कारागार छन् । जसमध्ये सन्दीपलाई भद्रजेलमा राखिएको जेलर ईश्वरीप्रसाद पाण्डेले बताए । भद्रजेलमा श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालगायत करिब एक हजार एक सय कैदी–बन्दी छन् ।
मुद्दाको फैसला नहुँदासम्म अब कारागारमै बस्नुपर्ने भएकाले उनको क्रिकेट करिअर अनिश्चित बनेको छ ।
होटेलको सिसिटिभी फुटेज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवादीको बयान व्यहोराबीच आपसमा तादात्म्यता रहेको तथ्यलाई आधार मानेर अदालतले उनलाई थुनामा पठाएको हो । परोपकार तथा स्त्रीरोग अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गर्दा शारीरिक सम्बन्ध भएको कुरालाई समर्थन गर्ने प्रतिवेदन आएको थियो । साथै, होटेलको सिसिक्यामेरा फुटेजमा पनि दुवैजना होटेलमा बसेको पुष्टि भएकाले निर्दोष रहेको भन्न नसकिने अदालतको निष्कर्ष छ । सन्दीपले बयानका क्रममा आफूहरू सो होटेलमा एक रात बसेको स्वीकार गरेका थिए । त्यसलाई पनि अदालतले थुनामा पठाउने आदेशको आधार बनाएको छ ।
एउटै कोठामा बसेको भए पनि शारीरिक सम्बन्ध नराखेको दाबीसहितको बयान सन्दीपले दिएका छन् । किशोरी बेडमा सुतेको र आफू रातभरि कुर्सीमा बसेको उनको दाबी छ । तर, किशोरीले भने आफूमाथि दुईपटक बलात्कार भएको बताएकी छिन् ।
पहिलोपटक राति १२ः१५ बजे इच्छाविपरीत र त्यसको एक घन्टापछि दोस्रोपटक बलात्कार गरेको पीडितको दाबी छ । रुँदा–कराउँदा पनि ढाडमा हिर्काएर दोस्रोपटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
गत ५ भदौमा एक किशोरीमाथि पिंगलास्थानको काठमाडौं इनहोटेलमा बलात्कार गरेको अभियोग सन्दीपमाथि छ । २० भदौमा उनीविरुद्ध जाहेरी परेकोमा २० असोजमा विदेशबाट फर्कंदा प्रहरीले उनलाई नियन्त्रणमा लिई १४ कात्तिकमा मुद्दा दायर गरेको थियो । चार दिनसम्म जिल्ला अदालत काठमाडौंमा चलेको थुनछेक बहसपछि उनलाई थुनामा पठाइएको हो ।
लामिछानेका कानुन व्यवसायी भने अदालतको आदेशप्रति असन्तुष्ट छन् । साधारण तारेखमा छाड्न माग गरी आफूहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने बताएका छन् ।