काठमाडौँ । आगामी निर्वाचनमा झन्डै आधा मतदाता ४० वर्षमुनिका युवा छन् तर दुई तिहाइ उम्मेदवार भने ४० वर्षमाथिका छन् ।
कान्तिपुर दैनिकमा संवाददाता मकर श्रेष्ठ लेख्छन् : १५ दिनपछि हुने निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन् । यीमध्ये १८–४० वर्षका मतदाता ८८ लाख चार सय ३६ छन् ।
प्रमुख राजनीतिक दलहरूबाट उम्मेदवार बनेका मध्ये २५ देखि ४० वर्ष उमेर समूहका जम्मा ३१।४७ प्रतिशत मात्रै छन् । ४० वर्षमाथिका उम्मेदवार भने ६८.५३ प्रतिशत छन् । स्थानीय तहको नेतृत्वमा स्वतन्त्र रूपमा उठेका युवाले जितेसँगै अबको निर्वाचनमा पनि यस्तै नतिजा आउन सक्ने डर दलका नेताहरूमा छ ।
आगामी निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा कुल २ हजार ४ सय १२ र प्रदेशसभामा ३ हजार २ सय २४ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ ४१ देखि ९९ वर्षसम्मका उम्मेदवार १ हजार ६ सय ५३ छन् । त्यस्तै प्रदेशसभामा पनि यो उमेर समूहका उम्मेदवार २ हजार २ सय १७ जना अर्थात् ६८.७६ प्रतिशत छन् । गत स्थानीय निर्वाचनमा भने उम्मेदवारी दिनेमध्ये ४१ प्रतिशत युवा थिए ।
यो निर्वाचनमा १८–२५ वर्षका मतदाता मात्रै २२ लाख ९४ हजार १९ छन्, यो कुल मतदाताको १२।७५ प्रतिशत हो । त्यस्तै २६–४० वर्षका मतदाता ३६.१७ प्रतिशत छन् । आउँदो निर्वाचनमा युवाको मत निर्णायक हुने देखिएकाले नतिजामा असर पर्न सक्ने राजनीतिक विश्लेषक विष्णु सापकोटाको आकलन छ । ‘जनता एकातिर, दलहरू अर्कातिर छन् । दल र मतदाताको सोच नै फरक छ । स्थानीय तहमा पनि केही स्थानीय तहको नतिजा फरक आयो । आउँदो निर्वाचनको नतिजामा पनि उतारचढाव आउन सक्छ,’ उनले भने ।
६ महिनाअघि स्थानीय तहमा निर्वाचित ४० प्रतिशत अर्थात् १४ हजार ४ सय ४ प्रतिनिधि युवा छन् । अब हुने निर्वाचनमा पनि आधा मतदाता युवा भएकाले उम्मेदवारलाई चुनौती रहेको सापकोटाको विश्लेषण छ । राजनीतिले आशा जगाउन छाडेकाले युवामा वितृष्णा रहेको उनको बुझाइ छ । ‘नयाँ संविधान, संघीयतालगायत ठूला परिवर्तनले केही आशा जगाए पनि पछिल्लो समय मतदातामा राजनीतिप्रति वितृष्णा छ, त्यो चुनावमा प्रकट हुने सम्भावना छ,’ सापकोटा भन्छन् ।
४१ वर्षभन्दा बढी उमेरका मतदाता ५१ प्रतिशत छन् । आयोगका अनुसार ४१–५० वर्षका मतदाता १७.५६ प्रतिशत अर्थात् ३१ लाख ५८ हजार ५ सय २६ जना छन् । यो समूहका मतदाता सबैभन्दा बढी वाग्मती प्रदेशमा ६ लाख ३० हजार छन् । ५१–६० वर्ष उमेरका मतदाता २६ लाख ८२ हजार ६९ अर्थात् १४।९१ प्रतिशत छन् । त्यस्तै ६१–७० वर्षका मतदाता १०।२९ प्रतिशत छन् । ७१–८० वर्षका मतदाता १० लाख ६२ हजार ७३ जना अर्थात् ५।९ प्रतिशत छन् । आयोगका अनुसार ८१ वर्षभन्दा माथिका मतदाता २।४१ प्रतिशत अर्थात् ४ लाख ३४ हजार १ सय ९५ जना छन् ।
राजनीतिशास्त्री प्राध्यापक कृष्ण हाछेथुले अहिलेका युवा दलको विचारप्रति तुलनात्मक रूपमा निरपेक्ष रहेकाले नतिजामा फरक पार्न सक्ने बताउँछन् । तर धेरैजसो युवा ठूला दलको पकडमा रहेको उनको भनाइ छ ।