काठमाडौं । नयाँ शैक्षिक सत्र शुरु भएको ६ महिना बितिसकेको छ । विद्यालयहरुले दशैं अगाडि नै अर्धवार्षिक परीक्षा समेत लिइसकेका छन् । तर कर्णालीका अधिकांश जिल्लाका विद्यार्थीहरुले अझै पाठ्यपुस्तक पाएका छैनन् ।
शिक्षा र स्वास्थ्य नागरिकका नैसर्गिक अधिकारका रुपमा संविधानले व्याख्या गरे पनि यहाँका जनता सधैं यी दुई कुराबाट बञ्चित रहदै आएका छन् । कक्षा सञ्चालन शुरु भएको ६ महिना बितिसक्दा पनि कर्णालीका डोल्पा, मुगु, हुम्ला र जुम्लाका अधिकांश विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको हुम्लाका शिक्षक प्रेमसिंह जोशीले बताए । पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको उनको भनाइ छ । त्यसो त समयमा पाठ्यपुस्तक नपाउनु कर्णालीका विद्यार्थीहरुका लागि हरेक वर्षको समस्या बन्दै आएको छ । पाठ्यपुस्तक ढुवानी समयमा गर्न नसकेको सरोकारवालाहरुले हाकाहाकी स्वीकार समेत गर्छन् ।
तर ६ महिना बितिसक्दा पनि ढुवानीको कारण देखाएर पाठ्यपुस्तक पुर्याउन नसकेको कर्णालीका जिल्लाहरुमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र भने तीन साता अघि नै पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । मतपत्र छपाइसँगै ढुवानी समेत अन्तिम चरणमा रहेको आयोगको भनाइ छ । कर्णालीका जिल्लाहरुसहित हालसम्म ७५ जिल्लामा मतपत्र र निर्वाचन सामागूी पुगिसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताउनुभयो ।
उहाँका अनुसार हुम्ला, जुम्ला, डोल्पा, मुगु र बाजुरा जिल्लाका लागि सुर्खेतमा मतपत्र ढुवानी भएको छ । यी जिल्लामा सुर्खेतबाट हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिने छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाइ सकिएको छ ।
मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब ४ करोड मतपत्र आवश्यक पर्ने छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ २ करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ ।
छपाइ भएका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र मध्ये १ करोड २९ लाख ५३ हजार ५०० प्रदेश सभा तथा १ करोड ४६ लाख ३५ हजार प्रतिनिधि सभाको मतपत्र रहेका छन् । जसमा प्रतिनिधिसभाका लागि ५० र प्रदेश सभातर्फ ४६ जिल्लाको मतपत्र समावेश छन् ।
निर्वाचन आयोगले छपाइसँगसँगै ढुवानी पनि गरिरहेको छ । मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ । जसमा प्रतिनिधि सभाको मतपत्र ३९ लाख १९ हजार र प्रदेश सभाको मतपत्र ३९ लाख ४३ लाख रहेका छन् ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत सोमबारसम्म १६ वटा जिल्लाका मतपत्र ढुवानी भएको छ । ढुवानी भएका जिल्लाहरूमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, कालिकोट, दैलेख र सुर्खेत रहेका छन् ।