भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकिएको छ ।
यात्रु नभएको बताउँदै एयरवेजले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने गरि स्थगित गरेको हो ।
जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए । यात्रुहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन ।
तीन दिनसम्म जम्मा भएका यात्रुहरुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो ।
दाहालले जजिरा एयरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराएको बताउनुभयो । उहाँले अक्टुबर महिनामा जजिराले नियमति उडान गर्न नसक्ने बताउँदै अक्टोबर पछि उडान नियमित हुने आश्वासन पाएको बताउनुभयो ।
उडान नै रोक्दा यात्रुलाई समस्या हुने भएकाले दैनिक रुपमा उडान गर्न नसके पनि एक दिन बिराएर उडान गर्ने सहमति भएको दाहालले बताउनुभयो ।
विमाननस्थलका प्रमुखले नयाँ जहाजको समस्या बताइरहँदा जजिरा एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले भने यात्रु नपाएको कारण उडान कम गर्नु परेको बताउनुभयो ।
नागरथले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा माग नै नरहेको दाबी गर्नुभयो ।
जजिराको उडान प्रभावित हुनुमा यहाँका सरकारी निकायहरुको पनि उत्तिकै दोष रहेको छ । तत्कालीन श्रममन्त्री किसान श्रेष्ठले चर्चाकै लागि भैरहवामा स्थापना गरेको श्रम कार्यालयले अहिलेसम्म काम गरेको छैन ।
गौतमबुद्ध विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले यात्रुहरु अहिले पनि श्रम, रोजगार, मेडिकललगायत कारण काठमाडौँ मै जानु परेको समस्याका कारण पनि विमानस्थल सञ्चालनमा कठिनाइ आएको छ ।