काठमाडौं । निरन्तरको वर्षापछि पहिरो खसेर देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।
सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।
अविरल वर्षासँगै खसेको पहिरोका कारण दसैँको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने जानेहरु बीचमै रोकिएका छन् ।
उता अविरल वर्षासँगै खसेको पहिरोका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।
तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ । पहिरोकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरुद्ध भएको हो ।
राष्ट्रिय गौरवकै आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले जानकारी दिनुभएको छ ।
यस्तै पहिरो खस्दा लमजुङको बेँसीसहर–चामे सडक पनि अवरुद्ध भएको छ ।
अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यता पहिरो खसेपछि गल्छी–त्रिशूली सडकखण्ड अवरुद्ध भएको छ । धादिङको गल्छी हुँदै नुवाकोटको त्रिशूलीलगायत स्थानमा जाने सडक अवरुद्ध भएको हो ।
विहीवार बिहान करिब साढे ५ बजे नुवाकोटको बेलकोटगढी नगरपालिका–७, बुद्धसिंघाटस्थित सडकमा पहिरो खसेको प्रहरीले जनाएको छ ।
धादिङको सुरुङमार्गनजिकै सडकमा पनि पहिरो खसेको छ । पहिरोका कारण नागढुंगा–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ ।
विहीवार बिहान करिब सवा ८ बजे पहिरो खसेको कारण दुईतर्फी रूपमा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बङ्गालको खाडीबाट उर्लिरहेको न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा केही दिन यता निरन्तर वर्षा भइरहेकोले सतर्कता अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् ।