वासिङ्टन। अमेरिकाको फ्लोरिडासहितका केहि राज्यमा अहिलेसम्मकै खतरनाकमध्येको एक ‘इयान’ आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ ।
आँधीसँगैको मुसलधारे वर्षाले कयौँ सहर डुबेका छन्, सडक र हवाइ यातायात बन्द भएका छन् ।
लाखौँ नागरिक विजुली र सञ्चार सम्पर्कबाट विच्छेद भएका बीबीसीले जनाएको छ । आँधीमा फसेको एक डुंगा डुब्दा २० जना आप्रवासीहरू बेपत्ता भएका छन्, । चार जनालाई तटरक्षकले समुद्रबाट उद्धार गरेका थिए। राष्ट्रिय तूफान केन्द्र एनएचसीले आँधीलाई अत्यन्त खतरनाक भन्दै ठूलो क्षतिको चेतावनी दिएको छ ।
यो आँधी बिस्तारै उत्तर(पूर्वतर्फ सरेको र एट्लान्टिक महासागरमा देखा पर्ने पूर्वानुमान गरिएको छ।आँधी शुक्रबार जर्जिया र साउथ क्यारोलिना पुग्ने अनुमान छ । टम्पा सहरका मेयर जेन क्यास्टरले आउँदो २४ घण्टा सबैभन्दा खतरनाक हुने भन्दै मानिसहरूलाई रातभर सुरक्षित ठाउँमा शरण लिन आग्रह गरेका छन्।
भर्जिनिया राज्यमा आँधीका कारण आपतकालको घोषणा गरिएको छ । यसअघि बुधबार नर्थ क्यारोलिना र साउथ क्यारोलिनाले आँधी आउनुअघि आपतकालिन अवस्थाको घोषणा गरेका थिए । यस्तै जर्जियाका गभर्नरले मंगलबार नै आपतकालको घोषणा गरेका थिए ।
फ्लाइटवेर वेबसाइटका अनुसार अमेरिका भित्र वा बाहिर २ हजार एक सय ४० भन्दा बढी उडान रद्द भएका छन् । फ्लोरिडामा सबैभन्दा बढी ओर्लान्डोमा तीन सय ८६ वटा उडान रद्द भएका छन् । मियामीमा दुई सय १६ उडानहरू रद्द गरिएका छन् ।
यसैबीच आँधीले ल्याएको विपद्को मौका छोपेर केहि सहरमा लुटपाट मच्चिएको छ । फोर्ट मायर्स सहर सहित ली काउन्टीमा लुटपाट मच्चिएपछि कर्फ्यू घोषणा गरिएको छ।