काठमाडौं । मंगलवार महाशिवरात्रि । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा विशेष मेला लाग्ने गर्छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो लागेको छ ।
हिन्दूहरुले शिव मन्दिरमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना, भजन किर्तन, पूजा, होम रातभर जाग्राम बसेर महाशिवरात्रि पर्व मनाइरहेका छन् । यस उपलक्ष्यमा पशुपतिनाथको पूजा दर्शन गर्न बिहानदेखि स्वदेशी तथा विदेशी भक्तजनको ठूलो भीड लागेको छ ।
दर्शनार्थीका लागि बिहानैदेखि मन्दिरको चारैवटा ढोका खुला गरिएको छ ।
प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ । यस रातलाई उनीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातको रुपमा लिने गर्दछन् ।
१० लाखले पशुपति दर्शन गर्ने आँकलन, यस्तो छ व्यवस्थापन
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाका अनुसार महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएका छन् । एकैदिन १० लाखलेभ पशुपति दर्शन गर्ने आँकलन गरिएको छ ।्
दर्शन गर्न रुट मिलाइएको छ । जसअनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड(दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी(इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट(तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ।
ट्राफिक व्यवस्थापन
महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा आज उपत्यकबामा विशेष ट्राफिक व्यवस्थापन गरेको छ । ‘महाशिवरात्रि पर्व(विशेष ट्राफिक व्यवस्थापन योजना’ अनुसार विशेषगरी पशुपति क्षेत्रमा ट्राफिक व्यवस्था मिलाइएको महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले जानकारी दिनुभयो ।
महाशिवरात्रिमा १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उनका अनुसार गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ स्थान तोकिएको छ ।मित्रपार्क(गौशाला–तिलगंगा क्षेत्रमा सवारी आवगमन निषेधगरी बैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ ।
सवारीसाधनलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्हेश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ ।