काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले मधेस केन्द्रीत आन्दोलन घोषणा गरेको छ।
राष्ट्रपतिको कदमविरुद्ध मधेस प्रदेशमा जसपाले पहिलो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको जसपाको ठहर छ । राष्ट्रपतिको कदमविरुद्ध जसपाले यही असोज ८, ११, १३, १५, १६ र १७ गतेका लागि चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेको हो।
जसपा मधेस प्रदेश समितिका मुख्यसचिव दिनेश कुमार यादवले प्रदेशका आठै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै असोज ८ गते नागरिक समाज, बुद्धिजीवी, पत्रकार, शिक्षक, प्राध्यापक, व्यापारी, कानुन व्यवसायी, पेसाकर्मी तथा अन्य सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख गर्नुभएको छ ।
यस्तै असोज ११ गते जिल्लाको सदरमुकामहरूमा भ्रातृ संगठनहरूद्वारा विरोध प्रदर्शन तथा राष्ट्रपतिको पुतला दहन गर्ने, असोज १३ गते जनप्रतिनिधिलाई विधेयक र अध्यादेशबारे जानकारी गराउने र असोज १५ देखि १७ गतेसम्म सबै पालिका तथा वडास्तरीय भेला गरी राष्ट्रपतिले चालेको कदम र विधेयकबारे जानकारी गराउने जनाइएको छ।