काठमाडौं । हरिवन नगरपालिका–२, सर्लाहीका लाल मोहम्मदको काठमाडौंको गोठाटारमा सोमबार हत्या भएको छ ।
बजारबाट फर्कने बित्तिकै उनको घर अगाडि नै साँझ साढे ६ बजे गोली हानी हत्या गरिएको हो ।
गोठाटारस्थित घरको तेस्रो फ्ल्याट पुरै भाडामा लिएर ‘एभेन्जर इन्टरप्राइज’ नामक गार्मेन्ट फ्याक्ट्री चलाइरहेका मोहम्मद त्यही घरमा सपरिवार बस्थे ।
पल्सर मोटरसाइकलमा आएका तीनजनाको समूहले लालमाथि लखेटी लखेटी गोली हानेको दृश्य सीसीटिभी फुटेजमा देखिएको छ । प्रहरीले घटनास्थलमा एउटा ‘मेड इन यूएस’ लेखेको पेस्तोल पनि बरामद गरेको छ । टाउकोमा दुई र दाहिने तिघ्रामा एक राउण्ड गोली लागेका उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा राति चिकित्सकहरुले मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले बताउनुभयो ।
घटनाको अनुसन्धानमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ ।
लाल मोहम्मदको वास्तविक नाम मोहम्मद दर्जी हो । मोहम्मदमाथि केही साताअघि पनि आक्रमणको प्रयास भएको उनको पारिवारिक स्रोतले जनाएको छ । त्यही घटनापछि उनले जम्बुडाँडा प्रहरी चौकीमा आफू असुरक्षित भएको भन्दै निवेदन समेत दिएका थिए । यस्तै उनले राष्ट्रिय मानवअधिकार आयोगमा पनि निवेदन दिएका थिए । तर प्रहरीले निवेदनलाई गम्भिररुपमा नलिदा ज्यानै गएको परिवार स्रोतको गुनासो छ ।
त्यसो त मोहम्मदको विगत स्वच्छ नदेखिएको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनी हत्या अभियोगमा झण्डै १० वर्ष केन्द्रीय कारागार बसेर छुटेका थिए ।
त्यसैले उनको हत्यालाई आतंकवाद र अन्तर्राष्ट्रिय संगठित अपराध हेर्ने नेपाल प्रहरीको विशिष्टकृत इकाइ विशेष ब्यूरोले पनि चासोका साथ हेरेको छ ।
काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका अलावा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि यो हत्या प्रकरणमा नजर राखेको छ ।
जानकार स्रोतहरुका अनुसार मोहम्मद विगतमा नेपालबाट हुने जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् ।
नक्कली नोट कारोबारको ‘मास्टर माइन्ड’ मानिने युनुस अन्सारी २०६५ सालमा पक्राउ परेपछि नेपालमा नक्कली नोट कारोबारको र्याकेट सम्हालेका इल्ताफ हुसेन अन्सारीको समूहमा बसेर लाल मोहमदले काम गरेको प्रहरी उच्च स्रोतको दाबी छ । मोहमदले इल्ताफसँग मिलेर २० असार २०६४ मा अनामनगर–बानेश्वर पुल नजिक बलराम पटुवारको हत्या गरेका थिए । बलराम पनि नक्कली नोट कारोबारी भएपनि समूहगत द्वन्द्वका कारण उनी मारिएको बताइन्छ । प्रहरीका अनुसार त्यस घटनामा लाल मोहमद कन्ट्याक्ट किलरका रुपमा प्रयोग गरिएका थिए ।
विशेष ब्यूरोको एक रिपोर्ट अनुसार लाल मोहमदले नेपालमा नक्कली नोट कारोबारको बीचको लेयरका रुपमा काम गरेका थिए । त्यही कारण उनी भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को र्याडरमा परिरहेका थिए ।
भारतीय सुरक्षा अधिकृतहरुले नेपाली सुरक्षा अधिकारीहरुसँग उनीबारे समयसमयमा जिज्ञासा राख्ने गरेका थिए । त्यही कारण उनलाई प्रहरीले ‘रेड’ लिस्टमा राखेर निगरानी पनि गरिरहेको थियो ।