काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले उपत्यकामा चाडपर्वको समयमा रातिभन्दा बढी दिउँसो चोरीका घट्ना हुने गरेको भन्दै सचेत गराएको छ ।
ठूला चोरीको अनुसन्धान गर्दैआएको अपराध महाशाखाले चाडपर्वको समयमा चोरको मुख्य टार्गेट गरगहना र पैसा हुनेगरेको पाइएको जनाएको हो । चाडपर्वका समयमा चोरले दिउँसोको समयमा बढी चोरी गर्दै आएकाले बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म र राति १ बजेदेखि ३ बजेसम्म चोरीका घटना बढी हुने गरेको प्रहरीको भनाइ छ ।
यो समयमा सर्वसाधारणलाई सचेत रहन प्रहरीले आग्रह गरेको छ । घर छोड्दा छिमेकीलाई जानकारी गराउन पनि प्रहरीको अनुरोध छ । चाडपर्वमा मानिसहरु जिल्ला जाँदा उपत्यकाको घर डेरा सुनसान हुने र त्यहीबेला चोरहरु बढी सक्रिय हुनेगरेकाले सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ ।
कुनै अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाने, नचिनेको व्यक्तिले घरको ढोकामा आवाज दिएमा नखोल्ने, आफ्नो घर, टोल, छिमेकमा आपत्कालीन साइरन र सिसिटिभी क्यामेरा जडान गरी सुरक्षित रहन प्रहरीले अनुरोध गरेको छ । यस्तै विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोवार गर्ने, नगदबाट गर्नुपर्दा उच्च सावधानी अपनाउने र धम्कीपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ ।
रातको समयमा घरको गेट, ढोकाको चुकल, कब्जा राम्रोसँग बन्द गर्ने, लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गर्ने, सकेसम्म नगद, बहुमुल्य सामान र गरगहनाहरु घरमा नराख्ने, दशैं तिहारका लागि गाउँ जानलागेको उल्लेखगरी सामाजिक सञ्जालमा पोष्ट नगर्नसमेत प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।