लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा हेमराज शर्माले पूर्वआधार तयार गरेर संघको नेतृत्व चयनको लागि प्रत्यक्ष मतदान गर्न सकिने बताउनुभएको छ ।
नेपाली प्रवासी मञ्च अन्तराष्ट्रिय समितिले आइतवार गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा शर्माले आफू शुरु देखिनै साधारण सदस्यहरुबाटै नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको बताउनुभयो ।
उहाँले सन् २०२३ मा संघको नेतृत्वको लागि निर्वाचन गर्न नसके संस्थानै विघटन हुने जिकिर गर्नुभयो ।
पूर्वाधार र क्षेत्रीय सन्तुलनका आधार तयार गरेपछि प्रत्यक्ष साधारण सदस्यहरुले नेतृत्व चयन गर्ने गरि मतदान गर्न सकिने उहाँको भनाइ थियो । तीनवटा अध्यक्ष बनाएपछि मुखै देखाउन नसक्ने अबस्था आएको उउहाँले बताउनुभयो । अहिलेकै विधानमा न्यूनत सहमति गरेर अघि बढ्न उहाँले सबै पक्षलाई आग्रह समेत गर्नुभयो ।
संघको विधान समितिका संयोजक समेत रहेका डा शर्माले विधान निर्माण भन्ने विषय प्राविधिक मात्र भएको भन्दै वर्तमान नेतृत्वलाई सहमतिको खाका प्रस्तुत गर्न आग्रह गर्नुभयो ।
उहाँले संघको निर्वाचनमा मतदाता प्रभावित गर्न ठूलो आर्थिक चलखेल भएको बताउँदै चुनावमा लाइनमा बसेका मतदातालाई खाममा पैसा राखेर दिने विकृतिको अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो ।
संघको बरिष्ठउपाध्यक्ष समेत रहनुभएका शर्माले संस्थाको सदस्यता लिएकै दिन केन्द्रीय नेतृत्वको लागि मतदान गर्न पाउने व्यवस्था गलत भएको बताउनुभयो ।
संघका केन्द्रीय उपमहासचिव रामशरण सिमखडाले कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा मञ्चका अन्तराष्ट्रिय समितिका अध्यक्ष भक्त गुरुङ लगायत संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा बद्री केसीले आआफ्नो भनाईहरु राख्नुभएको थियो ।