काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ ।
आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले यसअघि जस्तै सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय भएको बताउनुभयो ।
निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताउनुभएको थियो । प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको तर्क गर्दै जबरा सर्वोच्च फर्किन लागेको स्रोतको भनाइ छ । जबराले आफू आइतबार सर्वोच्च आउँन लागेको भन्दै आवश्यक तयारी गर्न का निर्देशन दिनुभएको थियो ।
जबरा आउने खबर सार्वजनिक भएपछि नेपाल बारले आज आकस्मिक बैठक डाकेको थियो । आकस्मिक बैठकले जबरा सर्वोच्च अदालत आउने प्रयास गरेमा गेटमै शान्तिपूर्ण प्रदर्शन गर्ने र उहाँलाई भित्र प्रवेश गर्न नदिने घोषणा गरेको हो ।
यसैबीच निलम्बित प्रधानन्यायाधीस जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सर्वोच्च अदालत वरपर अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रधानन्यायाधीस जबरा माथि संसदमा महाअभियोग दर्ता भएपछि उहाँ निलम्बनमा पर्नुभएको थियो ।
महाअभियोग प्रक्रिया नटुंगिदै आज राती १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महअभियोग निस्क्रिय भएको जनाउँदै जबरा काममा फर्कन लाग्नुभएको हो ।