काठमाडौँ । सरकारले नेपालीको महान चाड बडादसैँ, तिहार र छठका उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राजधानी काठमाडौँ उपत्यकासहित देशभर सुपथ पसल सञ्चालनमा ल्याएको हो । कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट दसैँ, तिहार र छठ लक्षित सहुलियत पसल सञ्चालन गरिएको छ ।
उक्त सुपथ मूल्य पसलको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चाडपर्वका बेला हुनसक्ने महँगी र कालोबजारी नियन्त्रण गरी केही हदसम्म भए पनि जनतालाई सहुलियत दिने उद्देश्यका साथ सुपथ पसल सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले चाडपर्वका बेला दैनिक उपभोग्य बजारमा धेरै किनबेच हुने भएकाले महँगी नियन्त्रण तथा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन बजार नियन्त्रण गर्नु सुपथ पसलको प्रमुख लक्ष्य भएको बताउनुभयो । उद्योगमन्त्री बडूले जनतालाई राहत र सहुलियत प्रदान गर्न अघिल्लो वर्षभन्दा बढी मूल्य सुपथ गरिएको तथा साल्ट ट्रेडिङले दैनिक उपभोग्यवस्तु नुन, चिनीका अलावा खाद्यान्न पनि बिक्रीवितरण गर्ने जानकारी दिनुभयो ।
त्यस्तै दुग्ध विकास संस्थानले पनि सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । टाढाका सेवाग्राहीलाई अनलाइन बिक्रीको व्यवस्था मिलाइएको छ । मन्त्री बडूले कम्पनीको सेवालाई अझ प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै जनतालाई समयमै अधिकतम सेवा उपलब्ध गराउन निर्देशन दिनुभयो ।
उहाँले दुर्गम तथा हिमाली क्षेत्रका खाद्यवस्तुको सङ्कलन र बजारीकरणमा ध्यान दिन पनि आग्रह गर्नुभयो । बजारको प्रभावकारी अनुगमन गरी खाद्यवस्तुको गुणस्तर कायम राख्न मन्त्रालय सचेत रहेको भन्दै उहाँले जनशक्ति बढाएर अनुगमनलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो।