काठमाडौं । काठमाडौं महानगरपालिकाको सौन्दर्यकरण अभियानमा जुटेको मेयर बालेन शाह र उनको टिमले टुकुचा खोलालाई अतिक्रमण गरि बनाइएका संरचना पहिचान गर्ने कार्य शुरु गरेका छन् ।
टुकुचा खोलाको बहाव खोज्ने क्रममा विहीवार हात्तीसारस्थित जयनेपाल सिनेमा हलको कम्पाउन्डको १५ फिट जमिन खन्दा टुकुचाको बहाव भेटिएको छ । त्यस ठाउँमा इँटाको शुरुङ बनाएर टुकुचामाथि हलको संरचना बनाएको पाइएको छ । त्यसैगरि उक्त ठाउँमा विक्रम सम्वत २०२२ उल्लेख गरिएको इँटा समेत भेटिएको छ । यसबाट कम्तीमा २०२२ सालतिरै उक्त क्षेत्रमा टुकुचा खोलामाथि अतिक्रमण गरेर संरचना बनाइएको अनुमान लगाउन सकिन्छ । अर्थात ५७ सालपछि टुकुचाको प्राकृतिक बहाव खोतल्न मेयर साह र उनको टिम सफल भएका छन् ।
हाल बन्द अवस्थामा रहेको जय नेपाल’ राजधानीमा सञ्चलित पुराना सिनेमा घरमध्ये सबैभन्दा पुरानो मानिन्छ । यो सिनेमा हल २००९ सालमा स्थापना भएको हो । उक्त हल उभिएको जग्गा राणाहरुको हो । जय नेपाल चित्रघर स्थापना गर्नु अघि उक्त स्थानमा राणा प्रधानमन्त्रीहरुको पाल्तु गोही पालन केन्द्र थियो । सन् १९४५ मा हल स्थापना भएपछि पहिलो फिल्मका रुपमा भारतीय श्यामश्वेत धार्मिक फिल्म गणेश महिमा प्रदर्शन गरिएको थियो । २०४२ सालदेखि २०५५ सालसम्म हलको व्यवस्थापन जिम्मा लिएका सञ्चालक निर्मल प्रधानका अनुसार स्वर्गीय गन्धर्वशमशेर राणाको नाममा रहेको जग्गाको ९ जना अंशियार छन् ।
२०५५ अघि एउटा मात्रै पर्दा रहेको जय नेपाल सिनेमा हल सिनेमाप्रेमीका लागि प्रख्यात गतव्य थियो । सिनेमा हल २००९ सालमा स्थापना हुँदा तत्कालीन समयमा धार्मिक हिन्दी चलचित्र देखाइन्थ्यो । राजदरबारको छेउमा भएकाले यो सिनेमा हल राजा महेन्द्र र रानी रत्नराज्य लक्ष्मीको डेटिङ स्पटका रुपमा समेत प्रख्यात रहेको सञ्चालक प्रधान बताउँछन् ।
महेन्द्रकी पहिली श्रीमती रानी इन्द्रराज्य लक्ष्मीदेवीकोे निधनपछि राजा रत्नराज्य लक्ष्मीसँग नजिकिएका थिए । तत्कालीन समयमा उनीहरु यही सिनेमा हलमा फिल्म हेर्न आउने गरेको प्रधानको भनाइ छ ।
कुल ६० आना क्षेत्रफलमा फैलिएको जय नेपाल सिनेमा हलले ओगटेको जग्गाको मूल्य प्रतिआना साढे २ करोड रुपैयाँ छ । जस अनुसार हाल उक्त जग्गाको मूल्य १ अर्ब ५० करोड रुपैयाँ बराबरको छ ।
हलको संरचना टुकुचा खोला मिचेर बनाएको पाइएपछि महानगरपालिकाले खोलाको वरिपरि कम्तीमा चार–चार मिटर छोडेर कोरिडर बनाउने योजना बनाएको छ ।