काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अहिले एमसीसीसँगै अनुमोदन गर्ने भनिएको व्याख्यात्मक घोषणामा सांसदहरुले धारणा राखिरहेका छन् ।
संसदको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सरकारले आजै पेस गर्ने निर्णय गरेको १२ बुँदे व्याख्यात्मक घोषणा सदनमा पेश गर्नुभएको हो ।
छलफलमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले व्याख्यात्मक घोषणा देखाउनका लागि गरिएको टिप्पणी गर्नुभएको छ ।
एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीमाथि बहस गर्दै उहाँले एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्ने बताउनुभएको छ ।
एमसीसी आइपीएसको अंग भएको बताउँदै उहाँले दोधारे कुरामा नपसी राष्ट्रियताको विपरित सम्झौता पास गर्न नहुने बताउनुभयो ।
यस्तै नेकपा एमालेका नेता भीम रावलले एमसीसीमाथि सरकारले् गरेको व्याख्यात्मक घोषणा व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गर्नुभएको छ ।
व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला खल्लाको बीचमा एमसीसीमा अनुमोदन गरिन लागिएको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले कानुनको अभावमा यो संझौता पेश नै गर्न नमिल्ने जिकिर गर्नुभयो । एमसीसी दुई पक्षीय सम्झौता भएकाले नेपालले मात्र गरेर केही नहुँने र यो ठग पत्र बाहेक अरु केही नभएको उहाँको टिप्पणी गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती विसंखेले एमसीसीको व्याख्यात्मक घोषणा कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।
सांसद विसंखेले व्याख्यात्मक घोषणा बहुमतबाट पारित भएजस्तै सम्बन्धित निकायले कार्यान्वयन पनि गर्नुपर्ने बताउनुभयो ।