काठमाडौं । दलहरुको दाबी यथावत रहेपछि पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँटको कसरत रोकिएको छ ।
गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्यबीच लगातार छलफल भए पनि दलहरु लचिलो नबनेपछि सिट बाँडफाँटमा तत्काल सहमति जुट्ने सम्भावना सकिएको हो ।
मंगलबार पनि दलहरूले बालुवाटारमा सिट बाँडफाँटबारे सहमति गर्न बैठक गरेका थिए। तर सबै दलले पूरानै अडान नछोडेपछि निष्कर्षविहीन बन्यो । दलहरूले अब पार्टीभित्र आन्तरिक छलफल गरेपछि मात्रै शीर्ष नेतासहित गठबन्धन बैठक बस्ने सहमति भएको छ।
आफूले दाबी गरेको सिट घटाउनुपर्ने अवस्थामा दलहरूले पार्टीभित्र आन्तरिक सहमति गर्नुपर्ने जानकारी गराएपछि गठबन्धन बैठक स्थगित भएको हो ।
नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ प्रतिनिधि सभा क्षेत्र दाबी गरेका छन्।
यी दलका मागअनुसार सिट बाँडफाँट गर्न निर्वाचन क्षेत्र अपुग हुन्छ। प्रतिनिधि सभातर्फ प्रत्यक्षमा १६५ क्षेत्र छ भने प्रदेश सभातर्फ ३३० क्षेत्र छ।
दलहरूले गत साउन २० मै चुनावी तालमेल गरेर जाने औपचारिक सहमति गरेका थिए। त्यसयता कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटमा सहमति खोज्न एक महिना छलफल गरे पनि पार लगाउन सकेका थिएनन्।
अघिल्ला चुनावहरूमा आएका मत लगायतबारे विश्लेषण गरी क्षेत्रगत रूपमा छलफल हुँदा एकै क्षेत्रमा दुई(तीन दलले दाबी गर्ने र कोही पनि एकअर्कोलाई छाड्न तयार नहुँदा सहमति नभएको कार्यदलका एक सदस्य बताउँछन्।
तत्काल सहमतिमा पुग्नेजस्तो नदेखेपछि दलहरूले एकपटक फेरि आन्तरिक छलफल गरेर पुनः शीर्ष नेतासहित गठबन्धन बैठक गरी सिट बाँडफाँट टुंग्याइने कार्यदलका ती सदस्यले भने।
कांग्रेसभित्र कम्तिमा पनि ९० देखि १०० सिट लिन दबाब छ। थोरै सिट लिँदा टिकट नपाएर बागी उम्मेदवारी दिन सक्ने भय कांग्रेसमा छ।
एकीकृत समाजवादी र जसपाले पनि आफूले दाबी गरेकै हाराहारीमा सिट चाहिने बताइरहेका छन्। कार्यदलका अर्का सदस्यका अनुसार अब समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गरेपछि मात्रै प्रत्यक्षतर्फका सिटबारे भागबन्डामा सहमति खोजिनेछ।
दलहरूले यसबीचमा आन्तरिक र द्विपक्षीय तथा त्रिपक्षीय छलफल भने जारी नै राख्ने तयारी गरेका छन्। निर्वाचन आयोगले असोज २ र ३ मा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्न दलहरूलाई समय दिएको छ।
मंसिर ४ मा हुने चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता भने असोज २३ गते गर्ने आयोगको कार्यतालिका छ।