काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान सकेको छ । गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिएको हो । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो ।
मंगलबार ८ वटा प्रश्नको जवाफ लिएसँगै समितिले जबरासँगको बयान सकेको हो । पाँच दिन दिएको बयानका क्रममा आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य नै सकेको दाबी गर्दै उनले सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञमाथि विभिन्न आक्षेपसमेत लगाउनुभएको छ ।
उहाँले आक्षेप लगाउनुभएका व्यक्तिहरुलाई पनि छलफलका लागि बोलाउने समितिले निर्णय गरेको छ ।
जबराले बयानका क्रममा मुछेका पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञलाई सोधपुछका लागि बोलाउने समितिले निर्णय गरेको हो ।
मंगलबार बसेको समिति बैठकले जबराले बयानका क्रममा नाम मुछेका व्यक्तिलाई आवश्यकताका आधारमा बोलाउने निर्णय गरेको हो । जबराले बयानका क्रममा ठेक्कापट्टा, भ्रष्टाचार, अनियमितता, घुसखोरी, भनसुन, न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका व्यक्तिलाई समितिले बोलाउने निर्णय गरेको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिनुभयो ।
जबराले एमाले अध्यक्ष केपी ओली, एमाले उपाध्यक्ष विष्णु पौडेल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, सर्वोच्च्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, बार पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता ओमप्रकाश अर्यालसहितको नाम मुछ्नुभएको थियो ।
गत १ फागुनमा कांग्रेस र माओवादी केन्द्रका सांसदले जबराविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए ।