काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरू सीट बाँडफाँडमा सहमति जुटाउन पुनः असफल भएका छन् ।
सोमवार साढे ६ घण्टा छलफल गरे पनि शीर्ष नेताहरुले सीट बाँडफाँडमा सहमति जुटाउन भने सकेका छैनन्। गठबन्धनले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० सीट बाँडफाँड गर्न गत साउन २० गतेदेखि निरन्तर गृहकार्य गरिरहेको छ।
गठबन्धनका पाँच दलले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेसँगै सीट बाँडफाँडमा छलफल गर्दै आएका छन्। झण्डै डेढ महिनादेखि विभिन्न चरणमा छलफल गर्दै आए पनि अझै सहमति जुट्न सकेको छैन।
सीट बाँडफाँड गर्न गठन गरिएको गठबन्धन कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एउटै सीटमा दुई तथा तीन दलले दाबी गरेकाले सहमति जुट्न नसकेको बताउनुभयो ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको ११ सदस्यीय कार्यदलले एक महिना लगाएर प्रतिवेदन बनाएको थियो। त्यसमा पनि सहमति जुटेको थिएन।
गठबन्धन कार्यदलले सहमति विनाकै प्रतिवेदन शीर्ष नेतालाई बुझाएको थियो। त्यहि प्रतिवेदनमाथि एक सातादेखि गठबन्धनका शीर्ष नेता छलफल गरिरहेका छन्।
सोमबारको साढे ६ घण्टे बैठकमा पनि प्रतिवेदनमाथि नै छलफल भएको बैठकमा सहभागी मन्त्री कार्कीले बताउनुभयो। उहाँले दुई पक्षीय, त्रिपक्षीय र सामूहिक छलफल भए पनि निर्णय भने गर्न नसकेको जानकारी दिनुभयो ।
गठबन्धनका दलहरू निर्वाचन क्षेत्र केन्द्रित भएर छलफल गरिरहेका छन्। कार्यदलका सदस्य मन्त्री कार्कीका अनुसार काँग्रेसले पाउने ९० सीटमा विवाद छैन। बाँकी ७५ सीटमा दुई तथा तीन दलले दाबी गरेका छन्।
दलहरूको आ–आफ्नो अडान कायम रहँदा सहमति बन्न नसकेको कार्कीले बताउनुभयो ।
प्रतिनिधि सभाका १६५ सीटमध्ये नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी (जसपा) ले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सीटमा दाबी गरेका छन्।