रुपन्देही । बच्चा चोरको हल्लाले लुम्बिनी प्रदेशका तराईका जिल्लाका विद्यार्थी तथा अभिभावकहरुमा त्रास बढेको छ ।
एक सातायता पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, दाङ र बर्दियाका दक्षिणी क्षेत्रमा दिनहुँ बालबालिका अपहरणका विषय सामाजिक सञ्जालमा आएपछि विद्यार्थी र अभिभावकलाई थप तनाव भएको छ ।
शुक्रबार मात्र बुटवलमा विद्यालय गएका तीन बालकहरु सम्पर्कबिहीन भएर तीन दिनपछि भारतको मुम्बईमा अर्थचेत अवस्थामा भेटिएपछि अहिले सबै क्षेत्रमा त्रास बढेको हो ।
स्थानीय नविन र नहरपुर माविमा पढ्ने ती बालक कसरी मुम्बई पुगे भन्ने विषय नखुलेपनि यति लामो बाटो दुई दिनमै पुगेको विषय थप रहस्यमय भएको छ ।
अहिले यस क्षेत्रका सबैजसो विद्यालयले अभिभावलाई पत्र नै पठाएर विद्यालय जाने र आउने समयमा ध्यान दिन सचेत गराएका छन् ।
त्रासका कारण व्यस्त अभिभावकले बालबच्चा विद्यालय पठाउनै छाडेका छन् । बुटवलको इडन स्कुलका प्राचार्य शिवहरि भट्टराईले दिनहुँ बालबालिका अपहरणका विषय सामाजिक सञ्जालमा भाइरल बनेकाले सबै अभिभावकलाई सूचना गरेरै सर्तक बनाएको र आफूले पनि चासो बढाएको बताए ।
तराई मधेसमा मात्रै नभएर बुटवलको व्यस्त शहरमा समेत बच्चा अपहरण भएको विषयले सबै अभिभावकको सातो गएको र छोराछोरीलाई विद्यालय पठाउनै समस्या भएको स्थानीय अभिभावकको गुनासो छ ।
रुपन्देहीका भैरहवा, धकधई, मर्चवार, लुम्बिनी क्षेत्रका बिभिन्न व्यक्तित्वहरुले बिहानैदेखि भारतबाट बच्चा चोरी गर्ने गिरोह नेपाल छिरेको हल्लाले स्थानीय त्रसित बनेका छन् । यसबाट सावधानी अपनाउन भन्दै सामाजिक सञ्जालमा अनेक पोष्ट आएपछि अभिभावकहरु थप आतंकित बनेका छन । ।
त्रसित स्थानीयले बजारमा विभिन्न कामले हिंड्ने भारतीयहरुमाथि ठाउँठाउँमा भौतिक आक्रमण नै गरेपछि थप तनाव बढेको छ ।
रुपन्देही प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार यस्तो घटनामा धेरै सत्यता नभएपनि सर्तकता अपनाउन आग्रह गरेका छन् ।
मृगौला बेच्ने उद्देश्यसहित बच्चा चोर्ने गिरोह सक्रिय रहेको खबर बजारमा चले पनि यसमा कुनै सत्यता नरहेको प्रवक्ता अर्यालको भनाइ छ । उनले यस्तो अफवाहको पछि नलाग्नसमेत जिल्लावासीमा अनुरोध गरेका छन् ।