काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका गुल्मीका सागर ढकाल चुनावी अभियानमा व्यस्त छन् ।
उनलाई यतिबेला डडेलधुराका गाउँ डुल्न भ्याइनभ्याइ छ । उनी अहिले नेताहरु विरलै पुग्ने दुर्गम बस्ती बस्तीमा पुगेर मतदाताको मन जित्न लागिपरेका छन् । उनी कहिले भागेश्वरको ग्वानी बसौटी पुग्छन्, कहिले परशुरामको मलास क्षेत्र । कहिले पश्चिम सेती प्रभावित क्षेत्रमा पुग्छन्, कहिले प्रधानमन्त्री शेरबहादुर देउवाको पुर्ख्यौली थलो गन्यापधुरा । जहाँ नेताहरू निर्वाचनका समयमा मात्र पुग्छन्, त्यस्ता दुर्गम बस्तीलाई उनले आफ्नो चुनावी अभियानको पहिलो गन्तव्य बनाएका छन् ।
ढकाल चार दशक पछिसम्मको योजना र आश्वासन बोकेर डडेलधुराका विकासले छुन नसकेका दुर्गम गाउँमा चुनावी भेला गर्न व्यस्त छन् । उनको चुनावी अभियानलाई अमरगढी र परशुराम नगरपालिका तथा आलीताल गाउँपालिकाका दर्जनभन्दा बढी युवाले सहयोग गरिरहेका छन् । ‘ढकालका कुरा युवा, वृद्ध र महिला सबैले ध्यान दिएर सुनेका छन्,’ आलीतालका हर्क बोहरा भन्छन्, ‘उनीसँग योजना छ, स्पष्ट धारणा छ ।’
ढकाल चुनावी माहोल परिवर्तन हुनेमा आशावादी छन् । ‘म ४० वर्षमुनिका युवालाई जागरण गर्दै चुनावी अभियानमा जुटेको छु, समाजका हरेक वर्ग अहिले उकुसमुकुसको अवस्थामा छन्,’ उनी भन्छन्, ‘३२ वर्ष देउवाले शासन गर्दा के भयो ? भन्ने प्रश्न हरेकको मनमा छ । युवासँग यही प्रश्न लिएर म गाउँगाउँ पुगिरहेको छु ।’
पाँच वर्षअघि बीबीसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री देउवालाई गरेको प्रश्नबाट चर्चामा आएका ढकाल सरकारले आमनिर्वाचन घोषणा गरेलगत्तै डडेलधुरा पुगेका हुन् ।