काठमाडौं । नेपालमा रोजगारीको अवसर नरहेको भन्दै प्रत्येक दिन दुई हजारभन्दा बढी नेपाली युुवा वैदेशिक रोजगारीका लागि बाहिरिन्छन् । रोजगारीकै लागि श्रम स्वीकृति लिएर विदेशिने युवा ठूलो सङ्ख्या अदक्ष जनशक्ति हो । यसबाहेक सानो सङ्ख्या दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन् ।
तर, नेपालमा पनि थुप्रै विदेशी जनशक्तिले काम गर्दै आएका छन् । श्रम इजाजत लिएर नेपालमा काम गर्नेमा छिमेकी देश भारत र चीनदेखि अमेरिका, युरोपेली र अफ्रिकी मुलुकलगायतका ६९ देशका नागरिक छन् । श्रम इजाजत लिई नेपालमा काम गर्ने देशको सूचीमा अफ्रिकी मुलुक चाड, नाइजेरियादेखि युरोपेली मुलुक जर्मनी, फ्रान्स, इटली, नेदरल्यान्डस्लगायतका नागरिक छन् । नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश मलेसियाका नागरिकले पनि नेपालमा काम गर्न श्रम इजाजत लिएका छन् ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार आव २०७८/७९ मा नेपालमा काम गर्न दुई हजार १८१ जना विदेशीले श्रम स्वीकृति लिएका थिए । सो अवधिमा ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने एक हजार २३१ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । आव २०७७/७८ मा दुई हजार ३९३ विदेशी नागरिकले श्रम इजाजत लिएकोभन्दा गत आर्थिक वर्षमा विदेशबाट आएर श्रम स्वीकृति लिनेको सङ्ख्या केही घटेको पाइएको छ ।
गत आवमा नेपालमा श्रम इजाजत लिनेमध्ये सबैभन्दा धेरै अर्थात् झन्डै ७५ प्रतिशत चिनियाँ नागरिक छन् । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा काम गर्न इजाजत लिने विदेशीमा एक हजार ६२९ चिनियाँ, १०६ बेलायती, ८६ अमेरिकी, ६१ जापानी र ५७ जना भारतीय नागरिक छन् ।
विभागका अनुसार २०७९ साल सुरु भएयता वैशाखमा १९६, जेठमा ३६० र असारमा ३२७ र साउनमा १६० गरी कुल एक हजार ४३ जना विदेशीले विभागबाट श्रम इजाजत लिएका छन् ।
विभागका अनुसार नेपालमा भारतबाट आएर काम गर्नेको सङ्ख्या ठूलो छ तर इजाजत लिएरै काम गर्ने भारतीयको सङ्ख्या भने थोरै छ । खासगरी अदक्ष र अर्धदक्ष भारतीय श्रमिकको ठूलो सङ्ख्याले नेपालमा रोजगारी पाइरहेको छ । नेपाली युवा विदेशिएपछि भएको जनशक्ति अभाव यिनै भारतीय नागरिकबाट पूरा भइरहेको छ ।
विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । राष्ट्र बैङ्कका अनुसार यो रकम औपचारिक माध्यमबाट गएको विप्रेषण मात्रै हो ।
विश्व बैङ्कले सन् २०२० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट त्यतिबेला विप्रेषणका रूपमा चार करोड ४१ लाख (करिब साढे पाँच अर्ब रुपियाँ) अमेरिकी डलर बाहिरिएको छ । त्यसअघि सन् २०१९ मा छ करोड, २०१८ मा चार करोड ९४ लाख, २०१७ मा तीन करोड ३४ लाख, २०१६ मा दुई करोड र २०१५ मा ९० लाख अमेरिकी डलर रहेको विश्व बैङ्कको तथ्याङ्क छ । यद्यपि औपचारिक माध्यमबाट बाहिरिएकोभन्दा धेरै रकम अनौपचारिक माध्यमबाट बाहिरिरहेको अनुमान राष्ट्र बैङ्कका प्रवक्ता डा गुणाकर भट्टको छ ।
विश्व बैङ्कको तथ्याङ्कमा भारतको विप्रेषण आम्दानीका दश महत्वपूर्ण स्रोत मुलुकमध्ये नेपाल पनि एक रहेको छ । संयुक्त राज्य अमेरिकाको पिउ रिसर्चले सन् २०१७ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार त्यतिबेलै भारतीयले नेपालबाट करिब तीन खर्ब रुपियाँ विप्रेषणका रूपमा लगेको उल्लेख गरेको थियो ।