काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गर्नुभएको छ ।
बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताउनुभयो ।
शर्मा, महासचिवका दावेदार थिए । तर ४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहालले शर्मालाई उपमहासचिव बनाउनुभएको थियो ।
पार्टीमा ६ जना उपमहासचिव रहेको भन्दै शर्माले कार्यक्रममा आफू संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको बताउनुभएको थियो । शर्माले आफूले पार्टी अध्यक्ष दाहालको आलोचना र रक्षा दुवै गर्दै आएको बताउनुभयो । सही नेतृत्व र नीतिको मात्रै सर्मथन गनुपर्ने उहाँको भनाइ थियो ।
‘अध्यक्षको सबैभन्दा कडा आलोचक मै हुँ,’ उहाँले कार्यक्रममा भन्नुभयो, ‘अध्यक्ष कमरेडको संरक्षण गर्ने पनि मै हुँ। नेतृत्वको कमजोरीको आलोचना गनुर्पछ । म त अध्यक्ष कमरेडको आलोचक हुँ, आलोचना गर्छु ।’
कार्यक्रममा अध्यक्ष दाहालले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार होऊन् भन्ने चाहेको बताउनुभयो । पार्टीका नेताहरुको रक्षा गर्ने र हुर्काउन आफूले मुख्य भूमिका खलेको समेत उहाँले दाबी गर्नुभयो ।
जर्नादनलाई रक्षा गर्न र हुर्काउन पनि आफ्नो मुख्य भूमिका रहेको अध्यक्ष दाहालको भनाइ थियो ।