काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएको छ ।
प्रहरी वृत्त गौशालामा मंगलवार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिनुभयो ।
आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् । प्रहरीका अनुसार उनको उमेर १७ वर्षको छ ।
प्रहरीका अनुसार काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनी बानेश्वरको एक होस्टेलमा बस्दै आएकी छिन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । सामाजिक सञ्जालमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए ।
लामिछाने ६ भदौमा टी २० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो दिन उनले पीडितलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक बलात्कार गरेको पीडितको भनाइ छ ।
‘केन्या जानु अघिल्लो दिन सन्दीप आफ्नो कारमा मध्य बानेश्वरस्थित होस्टल नजिकै लिन आएको थियो’ उनले प्रहरीसमक्ष भनेकी छन्, ‘त्यतिबेला भक्तपुरको नगरकोट गएका थियौं, फर्किएर आउँदा मध्यराति भइसकेको थियो ।’
उनले सन्दीपलाई राति ८ बजेपछि होस्टल बन्द भइसक्ने बताएकी थिइन् । तर सन्दीपले ‘एकछिन एकछिन’ भन्दै ढिला गरेको पीडितको भनाइ छ ।
झण्डै ११ बजिसकेपछि सन्दीपले होटलमा बस्ने प्रस्ताव गरेको उनको बयान छ । त्यसपछि सन्दीपले उनलाई पिंगलास्थानस्थित होटलमा लगेका थिए । पीडितले दुईवटा कोठा लिन भने पनि सन्दीपले नमानेको प्रहरीको भनाइ छ ।
राति दुई पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले ४ पुस २०७८ मा लामिछानेले राष्ट्रिय क्रिकेट टिको कप्तान नियुक्त गरेको थियो । उनी २५ वर्षका छन् ।