काठमाडौं । पछिल्लो समय देशभर डेंगुका बिरामी बढ्दै गएसँगै यसको उपचारमा बारेमा जनमानसमा अनेकौँ भ्रम फैलिँदै गएको प्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
डेंगु रोग निको हुन्छ भन्दै विभिन्न एन्टिवायोटिक र दुखाइ कम गर्ने औषधि सेवन गर्ने बिरामी पनि बढ्दै गएका छन्। त्यसैगरी, डेंगु सङ्क्रमणले रगतमा घटेको प्लेटलेट्स बढाउन भन्दै डेंगुका बिरामीले आफूखुसी मेवाको पात खाने प्रवृत्ति पनि बढेको छ।
कोरोना महामारीका बेला गुर्जोको जथाभावी सेवनले मानिसहरुको स्वास्थ्यमा असर परेको थियो। अहिले पनि डेंगु सङ्क्रमण निको पार्ने भन्दै मेवाको पातको दुरुपयोग हुन थालेपछि चिकित्सक चिन्तित बनेका छन्।
सरुवा रोग विशेषज्ञ डा जनक कोइरालाले जथाभावी औषधि र मेवाको पात खानाले डेंगुका बिरामीमा थप समस्या बढ्दै गएको बताउनुभयो। मेवाको पातले डेंगुका बिरामीलाई फाइदा गर्नेबारे कुनै प्रमाणित भइनसकेकाले जथाभावी मेवाको पात नखान उहाँको सुझाव छ।
नेपाल आयुर्वेद चिकित्सक संघका निवर्तमान अध्यक्ष डा प्रकाश ज्ञवालीले मेवाको पातले रगतमा घटेको प्लेटलेट्स बढाए पनि जथाभावी मेवाको पात नखान सुझाव दिनुहुन्छ।
उहाँ मेवाको पातले रगतमा घटेको प्लेटलेट्स बढाउने रिर्सचले पनि देखाएको तर, जथाभावी खाँदा यसले नकारात्मक असर गर्ने बताउनुभयो ।
चिकित्सकीय निगरानीबिना खाँदा फाइदा हुनुको साटो उल्टै बेफाइदा गराउने डा ज्ञवालीको भनाइ छ। यसरी जथाभावी खाँदा पेट बाउँडिने तथा उल्टी हुने समस्याका साथै पछि गएर कलेजो तथा पेटमा समस्या ल्याउन सक्ने उहाँ बताउनुहुन्छ।
उहाँ भन्नुहुन्छ,“मेवाको पातको जथाभावी सेवनले बान्ता हुने, पेट काटने, पेट दुख्ने, पेट बाउँडिने जस्तो समस्या देखिने र पछि गएर कलेजो तथा पेटमा समस्या आउन सक्छ।” मेवाको पातको पनि सिरप र ट्याब्लेटमा प्रशोधित गरेर औषधिको रुपमा पनि आएको छ। यतिकै मेवाको पात खानुभन्दा चिकित्सकको सल्लाहमा औषधि खाना उहाँको सुझाव छ।