काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का नयाँ निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।
सोमवार वडा कार्यालयमा आयोजित पत्रकारहरुसँगको अन्तक्र्रियामा वडा अध्यक्ष नवराज लामाले एक सय दिन कार्यअवधिको बारेमा जानकारी गराउनुभएको थियो । पत्रकारहरुको प्रश्नको जवाफमा अध्यक्ष लामाले वडामा आउने सेवाग्राहीलाई छिटाृे, छरितो र चुस्त दुरुस्त ढंगबाट सेवा प्रवाहलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो । आफूहरु वडावासीको जनमतबाट निर्वाचित भएर आएपछि कुनै विचार र आस्थाभन्दा माथि उठेर वडावासीको विश्वास जित्ने गरि अघि बढेको उहाँको भनाइ थियो । त्यसैले वडाको विकास र वडावासीको समस्या सम्बोधन गर्न आफूले समयको कुनै सीमा नतोकेको वडाध्यक्ष लामाको भनाइ थियो । आवश्यक परेको बेला म जुनसुकै बेला पनि खटिन तयार छु र खटिरहेको छु, उहाँले भन्नुभयो । विशुद्ध जनताको प्रतिनिधि भएर कार्य गर्ने भएकोले राजनीतिक रुपमा पनि कुनै समस्या नरहेको उहाँको भनाइ थियो ।
वडावासीको चाहना वडाको विकास,फोहोर व्यवस्थापन,छिटो छरितो सेवा प्रवाह, खानेपानी,शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको उहाँले जानकारी दिनुभयो ।
आफूले भदौ ९ गते कार्यभार सम्हालेकै दिन पहिले काम, अनि मात्र प्रचार भन्ने उद्घोष गरेको स्मरण गर्दै उहाँले राम्रो कामको प्रचार जनता आफैंले गर्ने बताउनुभयो । यो एक सय दिनमा वडालाई उज्यालो बनाउने अभियान अन्तर्गत सडक बत्ती, ढल,सडक र खानेपानीको क्षेत्रमा उल्लेख्य काम भएको उहाँले जानकारी दिनुभयो । यसबीचमा जोरपाटीचोकबाट सुन्दरी जल जाने सडक भासिएर त्यहाँको घर र वस्ती नै जोखिममा परेको बताउदै वडाध्यक्ष लामाले उक्त सडकलाई एक महिनाभित्रै पुननिर्माण सम्पन्न गरिएको बताउनुभयो । यस्तै निर्माणाधीन वडा कार्यालय भवनको बाँकी काम समेत सम्पन्न भएर अब छिट्टै कार्यालय सर्ने तयारीमा रहेको पनि उहाँले बताउनुभयो । कार्यालय सरेपछि जनताका सुझाव र गुनासो संकलनका लागि हटलाइन सेवा शुरु गर्ने योजना समेत रहेको उहाँले सुनाउनुभयो ।
यस्तै सर्वेश्वर स्वास्थ्य केन्द्रलाई पुनः सञ्चालनमा ल्याउनुका साथै निशुल्क स्वास्थ्य विमाको तयारी समेत अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । आफूहरु निर्वाचित भएर आउँदा वडाभित्र फोहोर नउठ्ने समस्या रहेको बताउदै उहाँले अहिले त्यस्तो कुनै समस्या नरहेको दाबी गर्नुभयो ।
वडाध्यक्ष लामाले कतिपयले आफूलाई खरो स्वभावको भने पनि आफू स्पष्ट वक्ता भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा पत्रकारहरुले लामाको त्यही स्पष्ट व्यक्तित्व र वडावासीलाई सर्वोपरि ठानेर काम गर्ने शैलीले उहाँलाई नगरकै जनप्रिय जनप्रतिनिधि बन्न सफल भएको भन्दै प्रशंसा गरेका थिए ।