काठमाडौं । काठमाडौंमा कांग्रेसका उम्मेदवार सिफारिसप्रति असन्तुष्टि देखिएको छ ।
कांग्रेस काठमाडौंले कसैमाथि द्वेष राखेर क्षेत्रीय कार्यसमितिले नाम सिफारिस नगरेको पाइए हस्तक्षेप गर्ने जनाएको छ ।
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले सिफारिस गरेका उम्मेदवारका आकांक्षीबारे गुनासो आएपछि जिल्ला कार्यसमितिले तल्लो तहबाट आएका सिफारिसका सम्बन्धमा छानबिन गरी नाम समावेश गरेर प्रदेश कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।
कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ (सबुज)ले संगठनमा कसैले द्वेष राखेर क्षेत्रबाट नाम सिफारिस नगरी पठाएको पाइएमा जिल्लाले बायोडाटासहित नाम समावेश गरेर सम्बन्धित निकायमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको बताउनुभयो ।
काठमाडौंका १० वटै प्रतिनिधिसभा र २० वटा प्रदेश सभा निर्वाचन क्षेत्रको सिफारिस जिल्ला कार्यसमितिमा आएको र विवरण यकिन गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । जिल्लामा नाम सिफारिस भएसँगै उम्मेदवार बन्न क्षेत्रमा निवेदन दिएका, तर क्षेत्रले नाम सिफारिस नगरेको भन्दै कांग्रेसमा असन्तुष्टि देखिएको छ । नाम सिफारिसमा नपरेका कतिपयले पार्टीमा गुट, उपगुट र निषेध गर्ने मनसायले नाम सिफारिस नगरिएको गुनासो गर्दै आएका छन् ।
गुनासो आएपछि जिल्ला कार्यसमितिले विधानको व्यवस्थाअनुसार आएका नाममध्ये उपयुक्त व्यक्तिको सम्बन्धमा रायसहित माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको सभापति बानियाँले जानकारी दिनुभयो ।
कांग्रेस विधानको दफा ३२ को उपदफा ८ मा प्रतिनिधिसभाको उम्मेदवारी सिफारिसको व्यवस्था रहेको छ । संविधानको व्यवस्थाअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रत्यक्षतर्फ बढीमा तीनजना र समानुपातिकतर्फको समावेशी सिद्धान्तसमेतको आधारमा कम्तीमा एक महिलासहित बढीमा दुईजनाको नाम सहमति हुन सकेमा सहमतिअनुसार र सहमति हुन नसके बहुमतबाट निर्णय गरी जिल्ला कार्यसमितिमा सिफारिस गर्नुपर्ने हुन्छ ।
तत्पश्चात् जिल्ला कार्यसमितिले रायसहित प्रदेश कार्यसमितिमा पठाउने, प्रदेश कार्यसमितिले जिल्लाबाट सिफारिस नाममा रायसहित केन्द्रमा पठाउने र केन्द्रीय संसदीय समितिले उम्मेदवारको नामको अन्तिम टुंगो लगाउने व्यवस्था छ ।