काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले काठमाडौंका १० वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिश गरेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारका लागि नाम सिफारिश गरेको हो। जस अनुसार, काठमाडौं १ मा विदुर मैनाली, रूपनारायण श्रेष्ठ र टीकाराम भट्टराईको नाम सिफारिश भएको छ। मैनाली काठमाडौं महानगरका पूर्व उपमेयर हुनुहुन्छ । श्रेष्ठ एमालेका केन्द्रीय सदस्य र भट्टराई वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।
काठमाडौं २ बाट मणिराम फुयाँलको नाम सर्वसम्मत सिफारिश भएको छ। फुयाँल बागमती प्रदेश सभाका सांसद हुनुहुन्छ ।
त्यस्तै, काठमाडौं ३ बाट बहालवाला सांसद कृष्ण राईको नाम सर्वसम्मत सिफारिश भएको छ। राई एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।
एमालेले काठमाडौं ४ मा राजन भट्टराई र निर्मल कुइँकेलको नाम सिफारिश गरेको थियो । तर कुइँकेलले नाम फिर्ता लिनुभएपछि भट्टराई सर्वसम्मत हुनुभएको छ । भट्टराई एमाले स्थायी कमिटीका सदस्य हुनुहुन्छ ।
यसै गरी काठमाडौं(५ बाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम सिफारिश भएको छ। २०७४ सालमा भएको निर्वाचनमा उहाँ त्यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
काठमाडौं ६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुयाँल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माताप्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिश भएको छ। संग्रौला प्रदेश सांसद हुनुहुन्छ ।
काठमाडौं ७ बाट इन्दिरा पन्त, बीपी ढकाल र श्याम घिमिरेको नाम सिफारिश भएको छ।
काठमाडौं ८ मा बागमती प्रदेश सभा सांसद राजेश शाक्यको नाम सर्वसम्मत सिफारिश भएको छ।
काठमाडौं ९ मा स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य र प्रदेश सभा सांसद अजयक्रान्ति शाक्यको नाम सिफारिश भएको छ।
त्यसै गरी काठमाडौं १० मा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर, कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन, बागमती प्रदेश कमिटीका सदस्य शरव महर्जन र काठमाडौं जिल्ला कमिटीका सदस्य हिमेश केसीको नाम सिफारिश भएको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले बुधबार नाम सिफारिश गरेर पठाएको एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बताउनुभयो। उहाँका अनुसार आइतबार बस्ने जिल्ला कमिटीको बैठकले अहिले आएका नाम सहित अन्य नाममा छलफल गरेर प्रदेश कमिटीमा पठाइनेछ ।
प्रदेश कमिटीलाई भदौ २२ गतेभित्र उम्मेदवारको नाम केन्द्रमा बुझाउने समयसीमा तोकिएको छ।