काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको सीट बाँडफाँट पेचिलो बनिरहेका बेला नेपाली कांग्रेस र एमालेको अर्को गठबन्धन हुनसक्ने सम्भावना बढेको छ ।
काँग्रेसका संस्थापन इत्तरका डा शेखर कोइराला पक्ष र एमालेबीच चुनावी तालमेल हुने सम्भावना बढेको हो । कोइराला पक्ष पाँचदलीय गठबन्धनसँग असन्तुष्ट छ ।
काँग्रेस नेता कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विहीवार बालकोटमा भेटवार्ता भएपछि यस्तो आशंकामा थप मलजल भएको छ ।
ओली गृहजिल्ला झापा जानुअघि काँग्रेस नेता कोइरालासँग एमाले अध्यक्ष ओलीबीच डेढ घण्टाभन्दा बढी छलफल भएको कोइरालानिकट स्रोतले जनाएको छ ।
बालकोट स्रोतका अनुसार समसामयिक विषयमै दुई नेताबीच छलफल भएको हो । केही दिनअघि कांग्रेसका अर्का नेता डा मिनेन्द्र रिजालले पनि बालकोट पुगेर ओलीसँग छलफल गर्नुभएको थियो । त्यसलगत्तै ओलीसहितका नेताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवासँगको भेटमा एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले सीट नदिए एमालेसँग मिल्छु भनेर दिएको अभिव्यक्तिमा कुनै दम र सत्यता नभएको बताउनुभएको काँग्रेसका एक नेताले बताए । ओलीले अहिलेको अवस्थामा एमालेले कुनै वाम एकता नगर्ने भन्दै ढुक्क हुन देउवालाई आश्वस्त पार्नुभएको थियो । एमालेले यो चुनावमा माओवादी बोक्दैन भन्दै उहाँले चुनावमा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने प्रस्ताव राख्नुभएको ती नेताले बताए ।
कोइराला पक्ष सीट बाँडफाँटदेखि टिकट वितरणसम्म देउवाले एकलौटी गर्ने त्रासमा छ । क्षेत्र बाँडफाँटदेखि टिकट वितरणमा समेत पाखा पारिने कांग्रेसका प्रभावशाली नेताहरूले एमालेसँग मिलेर चुनाव लड्नसक्ने चर्चा भइरहेका बेला ओली र शेखरको भेट भएको हो । यस्तो हल्लाकाबीच ओलीसँगको कोइरालाको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सीट बाँडफाँट गर्दै देउवा इतर समूहका प्रभावशाली नेताका क्षेत्र माओवादी,समाजवादी र जसपालाई दिने षड्यन्त्र भइरहेको कोइराला पक्षको आरोप छ । टिकट वितरणमा पनि अन्याय भएपछि कांग्रेसमा ठूलो विद्रोह हुने र त्यो विद्रोही समूहले केपी ओलीको साथ खोज्न सक्ने आशंका गरिएको छ । गत स्थानीय तह निर्वाचनमा पनि काँग्रेसका गोविन्दराज जोशी र कर्ण मल्लहरूले ओलीको साथ दिएका थिए ।
एमाले नेताहरूले पनि अरु कुनै दलसँग गठबन्धन नगरि काँग्रेसको शेखर कोइराला पक्षसँग तालमेल गर्नु बुद्धिमानी हुने धारणा राखेका छन् ।