काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनमा आज सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ ।
बिहान ११ बजे बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटको टुङ्गो लगाउने र आजै निर्णय सार्वजनिक गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निष्कर्षको नजिक पुगेका छौँ। बुधवारको बैठकमा गम्भीर रूपले छलफल भयो। हामी परिणामको नजिक पुगेका छौँ।”
मन्त्री कार्कीले सिट बाँडफाँट निश्चय नै चुनौतीपूर्ण छ भन्दै बिहीबार बस्ने बैठकपछि निर्णयमा पुगेर सार्वजनिक गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार सिट बाँडफाँटको विषयमा विभिन्न खाकामा छलफल भएको छ। उहाँले भन्नुभयो, “कुन मोडालिटी प्रभावकारी र न्यायोचित हुन्छ, त्यसलाई दृष्टिगत गरेर राजनीतिक निर्णय गर्छौं।”
अन्य राजनीतिक दलहरूलाई गठबन्धनमा सरिक गर्दा सिटको विषयमा कुरा हुने भएकाले त्यस विषयलाई पनि ध्यान दिएर छलफल भएको मन्त्री कार्कीले बताउनुभयो। पाँच दलको आआफ्नो दाबीमा घट्ने–बढ्ने र सबै पार्टी कुरा आफूले जितेको अनुभूति हुने गरी निर्वाचनमा जाने उहाँले बताउनुभयो।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेका थिए।
कुन पार्टीलाई कति सिट भन्ने बाँडफाँट गर्न गठबन्धनले ११ सदस्यीय कार्यदल नै बनाएर छलफल जारी राखेको छ ।
कार्यदल बैठकमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका थिए। यसपछिका बैठकमा दलहरू आफ्ना अडानबाट पछि नहट्दा सहमति हुन सकिरहेको छैन।