काठमाडौं । कैलालीमा डेंगी संक्रमित एक महिलाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगीको संक्रमणबाट मृत्यु भएको हो।
केही समयदेखि निसर्ग अस्पतालमा उपचार गराइरहेका उनको मंगलवार मृत्यु भएको हो । उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो । उनको मंगलबार बिहान मृत्यु भए पनि बुधबार मात्रै डेंगीका कारण मृत्यु भएको खुलेको थियो।
पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरुमा डेंगीको प्रकोप फैलिएको छ।
डेंगी संक्रमणबाट बच्नका लागि सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रहसमेत गरेका छन्।
डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्दछ ।
डेंगीका मूख्य लक्षणहरू
–उच्च ज्वरो आउनु
–जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
–आँखाको गेडी दुख्नु
–बेस्सरी टाउको दुख्नु
–शरीरमा राता बिमिराहरू आउनु
–वाकवाकी लाग्नु वा वान्ता हुनु
डेंगीबाट बच्ने उपायहरूः
–एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
–आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
–बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
पूरै शरिर ढाक्ने लुगा लगाउने ।
–पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
–काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
–घर, विद्यालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडि, खाटमुनि, शौचालय भित्र, डेस्कबेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने ।
–कम्तिमा हप्ताको एक पटक ऐयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्ने ।